पोखरा ।
पोखरामा विश्व पर्यटन दिवसको अवसरमा अप्टिमिष्ट क्लब अफ लेखनाथको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र नगेन आर्ट एकेडेमीको सहकार्यमा कलाकार नगने सिंहको १२ औं एकल चित्र कला प्रदर्शनी कार्यक्रम भईरहेको छ ।
नेपाल पर्यटन बोर्डको कार्यालय ड्यामसाइड, पोखरामा आश्विन ११ गतेबाट सुरुवात भएको कलाकार सिंहको १२ औं एकल चित्र कला प्रदर्शनी कार्यक्रम आश्विन १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
यतिबेला पर्यटन बोर्डको कार्यालय परिसरभित्र कलाकार सिंहले बनाएका विभिन्न प्रकारका उत्कृष्ट कलाहरु लस्करै सजाएर राखिएका छन् । विशेषगरी यतिबेला पोखरामा पर्यटन आगमनको सिजन भएकाले अहिले सो कार्यालयमा पर्यटकहरुको चहलपहल बढिरहेको छ ।
विभिन्न कामका लागि सो कार्यालयमा जाने अधिकांश विदेशी पर्यटकहरुको ध्यान यतिबेला त्यहाँ प्रदर्शनमा राखिएका कलामा केन्द्रित हुने गरेको छ । उक्त प्रदर्शनी कार्यक्रममा कलाकार सिंहले तयार गरेका जीवन जगतका विभिन्न यथार्थता झल्किएका उत्कृष्ट चित्रहरुलाई प्रदर्शन गरिएको छ ।
“रिथिङ्किङ टुरिजम आर्ट एक्जिविसन” नाम दिइएको उक्त १२ औं एकल चित्रकला प्रदर्शनी कार्यक्रममा सिंहले विभिन्न कलामा पानी रङ्गको प्रयोगदेखि लिएर अल्कोहल कलर, एकलोरिक कलर आदिको प्रयोग गर्दै हिमालदेखि तराईसम्मका सुन्दरतालाई उत्कृष्ट तवरले कोरिएका चित्रहरुलाई सो प्रदर्शनीमा हेर्न सकिने भएको छ ।
प्रदर्शनीमा राखिएका हिमाली तथा पहाडी बस्तीसंगै अपूर्त कलाले पनि त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सो प्रदर्शनीमा ३३ वटा कलाहरुलाई प्रदर्शनीका लागि राखिएका छन् ।
कलाकार सिंहले नेपालका हरेक पर्यटकीय गन्तव्यलाई कलाको माध्यमार्फत विश्वसामु पु¥याउन र चिनाउन नेपाली जीवन जगतका यथार्थता, प्रकृति, संस्कृति आदिलाई समेटिएका कलाहरु राखिएको जानकारी दिएका छन् ।उनले यस प्रदर्शनीले पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास आफुले लिएको बताएका छन् ।
कोरोनाका कारण नराम्रोसंग प्रभावित भएको पर्यटनको पुनरुत्थानमा कलाकर्मीको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै यसका लागि राज्यले पनि उनीहरुको भूमिकालाई उचित रुपमा स्थान दिएर अघि बढ्नुपर्ने स्पष्ट पारेका छन् ।
राज्यको प्राथमिकतामा अझै पनि कला नपरेको भन्दै कलाकर्मी जबसम्म आफ्ना कलामार्फत बाँच्न सक्ने आधारलाई राज्यले तयार गर्दैन तबसम्म यस क्षेत्रको विकास नहुने पनि उनले बताएका छन् ।
कलाकार सिंहले फ्रान्सको लुभ्र कला सङ्ग्रहालय जस्ता धेरै स्थलहरु कलाकारिताकै माध्यमबाट विश्वमाझ परिचित भएको यथार्थतालाई सबैले बुझ्न जरुरी रहेको जनाएका छन् ।
उनले कला तत्कालीन समयको जीवन्त चित्रण गर्ने माध्यम समेत भएको जनाउँदै प्रत्येक ऐतिहासिक वस्तु ता सन्दर्भ कलाका माध्यमबाट पछिल्लो पुस्ता माझ हस्तान्तरण हुन सक्ने पनि जानकारी दिएका छन् ।