महानगर प्रमुख आचार्यद्धारा फेवाताल संरक्षणका लागि मेगा फेवा सरसफाई अभियान गर्ने
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले हामी नेपालीहरु धेरै जातजाति, भाषा, संस्कार र सभ्यताका हिसाबले अत्यन्त समृद्ध इतिहास बोकेको देशको नागरिक भएको बताएका छन् ।

नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संम्वत एवं छठ पर्वको अवसरमा शुक्रबार महानगरपालिकाद्धारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले नेपाली समाजलाई एउटा सभ्य र भव्य हिसाबले अगाडी बढाउनका लागि हाम्रा पुर्खाहरुले विभिन्न खालका कार्यक्रमहरु डिजाइन गरेको बताएका छन् ।

उनका अनुसार जब आफुमा भएको शक्ति कमजोर हुँदै जान्छ तब त्यसलाई रिचार्ज गर्नका लागि यस्ता खालका चाडपर्वहरु सृजना गरिएको पाइएको बताएका छन् ।

उनले एउटा उदाहरण दिँदै हाम्रो हातमा भएको मोबाइल धेरै रकम र राम्रो ब्राण्डको भएतापनि समयमा नै चार्ज गरिएन भने केही समयपछि त्यसले काम गर्न छाड्ने र त्यसलाई पून सुचारु गर्न चार्ज गर्नुपर्ने बताउँदै त्यसरी नै चाहे त्यो नेपाली समाज होस् या संसारका कुनैपनि समाज किन नहोस् त्यसलाई पनि रिचार्ज गर्नका लागि हरेक राज्य सत्तामा यस्ता खाले परम्परा र पर्वहरुको डिजाइन गरिएको हुने जनाएका छन् ।

संसारका कुनैपनि मुलुकहरुमा भन्दा हाम्रा पुर्खाहरुले डिजाइन गरेका कार्यक्रमहरु अत्यन्तै वैज्ञानिक भएको समेत बताएका छन् । मेयर आचार्यले असत्य माथि सत्यको विजय हुने मान्यता बोकेका यस्ता नेपाली पर्वहरुले सम्पूर्ण पोखरेली जनताहरुलाई सकारात्मक उर्जा दिन सकोस् भन्दै शुभकामना दिएका छन् ।

उनले अहिले पछिल्लो समय समाज सचेत भएको र हामी सचेत नागरिक पनि हौं भन्दै कुनै–कुनै विषय छलफल गर्दा फरक मतका कारण मतभेद हुन सक्ने भएतापनि सम्रग देश र महानगर बनाउने सन्र्दभमा आफुहरु सबै एकै ठाउँमा हुने स्पष्ट पारेका छन् ।

चाडबाडका बेलामा कुनैपनि प्रकारका अप्ठ्यारो परेको खण्डमा समास्या समाधानका लागि ११८१ नं.को हटलाईन व्यवस्था गरिएको जानकारी पनि दिएका छन् ।

त्यस्तै प्रमुख आचार्यले दशैंलगतै आश्विन २५ गते महानगरले मेगा फेवा सरसफाई अभियान गर्ने जनाएका छन् । सो सरसफाई अभियानमा महानगरले ३३ वटा पोइन्टहरु छुट्याइएको र सो पोइनटहरुबाट महानगरका सम्पूर्ण वडा अध्यक्षहरुको सहभागीता रहने बताएका छन् ।

उनले यस क्षेत्रका पूर्व मन्त्रीहरु देखि लिएर वर्तमान मन्त्रीहरु, विभिन्न संघ संस्थहरु र आमा टोलीहरुलाई सो अभियानमा सरिक भई फेवातालको उदारका लागि सहभागी हुन आग्रह पनि गरेका छन् ।

उक्त अभियान पक्षात भने एउटा संयन्त्र नै बनाएर निरन्तर रुपमा ताल सरसफाईलाई निरन्तरता दिने बताएका छन् । सो अभियानमा सम्पूर्ण टोल विकास संस्था र आमा समुहहरुले आफ्नो पहिचानको प्रस्तुत गर्ने र सबैभन्दा राम्रो प्रस्तुती देखाउने एक दर्जन संघ–संस्थालाई महानगरले उत्कृष्ट पुरस्कारको व्यवस्था गरेको जानकारी समेत दिएका छन् ।

फेवातालको विषयमा धेरै अनुत्तरित प्रश्नहरु रहेको भन्दै उनले सर्वोच्च अदालतले अन्तिम फैसला दिएपछि मात्र यसको मापदण्डलाई कडाइका साथ कार्यन्वयनमा लैजाने बताएका छन् ।अहिले अदालतको अन्तिम फैसला नआउँदासम्म तालको ६५ मिटर भित्र कुनैपनि संरचना नबनाउन र बनाउन नदिन सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्दै त्यस क्षेत्रमा कुनै संरचना बनाउन नदिईने स्पष्ट पारेका छन् ।

मापदण्ड मिचेर बनाउँदै गरेका संरचनाहरुलाई अगाडी नबढाइ सर्वोच्चले दिएको आदेशलाई सम्मान गर्न मयेर आचार्यले आग्रह गरेका छन् । उनले फेवातालमा हुने अतिक्रमणलाई नियन्त्रण गर्न अहिले पनि महानगरको तर्फबाट ५ जना नगरप्रहरी खटाइएको जानकारी समेत सो कार्यक्रममार्फत दिएका छन् ।

यस्तै शुभकामना आदान–प्रदान कार्यक्रममा मेयर आचार्यले पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनु यस क्षेत्रका सम्पूर्णबासीहरुको लागि गर्वको विषय भएको बताएका छन् ।

यस प्रतियोगिताको आयोजक नेपाल सरकार खेलकुद विकास मन्त्रालय भएतापनि प्रतियोगिताको प्रमुख होस्ट पोखरा भएकाले यहाँ देशैभरका सातै वटा प्रदेशबाट आउने खेलाडीहरु, प्रशिक्षक, अफिसियल लगायतका करिब १० हजार मानिसहरुको उपस्थिति रहने हुदाँ सबैलाई सम्मानजनक र आत्मीयता प्रदान गर्न पोखरेलीबासीहरुलाई अनुरोध पनि गरेका छन् ।

सोही कार्यक्रममा गण्डकी प्रदेश सहरी विकास, यातायात तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, कानुन, संचार तथा प्रदेश मामिला मन्त्री बिन्दु कुमार थापा, अर्थ मन्त्री रामजी प्रसाद बराल, सुरक्षा निकायका प्रमुख लगायत जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्