पोखरा ।
सरिता गुरुङ्ग
पोखरा महानगरपालिका वडा नं. २५ ले स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पश्चात हालसम्म गरेका कामहरुको संक्षिप्त विवरण र भावी योजनाहरु प्रस्तुत गरेको छ । वडा अध्यक्ष मोतिराज तिम्सिनाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि आफु निर्वाचित भईसकेपश्चात हालसम्म वडाले गरेका कामहरु बारे विवरण पेश गर्नुका साथै भावी योजनाहरुको बारेमा जानकारी दिएका छन् ।
अध्यक्ष तिम्सिनाले आफुहरु निर्वाचित भईसकेपछि कार्यालय व्यवस्थापनतर्फ नागरिक सहायता कक्षको व्यवस्था, कार्यालय रंगरोगन तथा मर्मत कार्य सम्पन्न, सूचना अधिकारीको व्यवस्था र कार्यालयमा उर्जा व्यवस्थापनका लागि वैकल्पिक उर्जा जडान गरिएको बताएका छन् । उनले वडा कार्यालयका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समितिहरु जस्तै विपद् व्यवस्थापन समिति, वडा शिक्षा समिति, सल्लाहाकार समिति, कृषि संजाल, वडा सहजिकरण समिति, बाल संजाल, अनुगमन समिति गठन गरिनुका साथै वडा सदस्यहरुलाई विषयगत क्षेत्र तथा भूगोलको जिम्मेवारी तोकिएको जनाएका छन् ।
उनले भौतिक पूर्वाधार विकासतर्फ समेत धेरै कार्यहरु सम्पन्न भएको पनि बताएका छन् । उनका अनुसार भौतिक पूर्वाधार विकासतर्फ वडा न.ं २५ मा मेलवोट पार्क तथा खुला व्यामशाला निर्माण कार्य सम्पन्न गरेको बताउँदै जैसिचौर सृजना टोल बाटो ढलान, चौर समिबोट र मोति–मार्ग बाटो ढलान, कालिका चोक (कार्कीको घरसम्म)को बाटो ढलान गरिएको समेत उक्त कार्यक्रममार्फत जानकारी दिएका छन् ।
उनले बाढी पहिरोबाट क्षतिग्रस्त भएका विभिन्न ५ सय मिटर कच्ची बाटोमा ग्रावेल गर्ने काम भएको र मध्य पहाडी लोकमार्गसंगको सहकार्यमा मिलनचोक चौतारा निर्माणका साथै चोक सौन्दर्यकरण कार्यको थालनी भएको विवरण पनि पेश गरेका छन् ।कार्यक्रममा अध्यक्ष तिम्सिनाले सो वडामा आफु निर्वाचित भएर कार्यकक्षमा आएपछि सम्पादन भएका कामहरुको संक्षिप्त जानकारी दिँदै अषाढ १० गतेको बाढी पहिरोबाट पीडित परिवारको तत्काल उद्धार गर्नुका साथै राहत वितरण गरिएको बताएका छन् ।सोही मितिमा बाढी पहिरोबाट क्षतिग्रस्त भएको चौरासी नहर मर्मत कार्य गरिएको समेत विवरणमा पेश गरिएको छ । सो कार्यक्रममार्फत उनले मेलबोट पहिरो, झिर्झिका पहिरो, सुन्दरपुरी पहिरोका कारण अबरुद्ध भएका बाटोलाई सुचारु गर्ने कार्य सम्पन्न गरेको पनि जनाएका छन् । वडा अध्यक्ष तिम्सिनाले वडामा सम्पन्न भएका कार्यहरु प्रस्तुत गर्ने क्रममा हेमजा स्वास्थ्य चौकीमा डाक्टर, ल्याव र विमासहितको सेवा संचालन गर्न नगर कार्यपालिकाबाट निर्णय गराउने काम भएको, सडक सुरक्षाका लागि मध्य पहाडी लोक मार्गको याम्दीदेखि फेदीसम्म सडकपेटी खुल्ला गरिएको, नयाँ बस्ती विकास भएका स्थान (कुँवरथर सोती पसल, लामाडचौतारा र रामचोक)मा विद्युतिय लाईन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य, चौरासी नहरको पुर्ननिर्माणका लागि डि.पि.आर तयार गरी योजना माग गर्न नहरले चर्चेको जग्गा छुट्टाई नक्शांकन गर्ने कार्य चलिरहेको, चाडपर्वलाई मध्य नजर गर्दै बजार अनुगमनलाई तिव्रता दिईएको पनि बताएका छन् ।उनले उज्यालो कार्यक्रम अन्तर्गत आफ्नो वडाको टोलहरुमा अटोमेटिक बत्ति जडान, वडा नागरिकका लागि आरोग्य कार्यक्रम संचालन, स्ट्रिट नेमको लागि बोर्ड राख्ने काम, गौरी शंकर मा.वि र ग्राम प्रकाश आधारभूत विद्यालयबीच मर्जर प्रकृयालाई अगाडी बढाउने लगायतका धेरै महत्वपूर्ण कामहरु सम्पन्न भईसकेको विवरण पेश गरेका छन् ।
त्यस्तै उक्त कार्यक्रममा उनले वडाले गर्ने भावी कार्यक्रमहरुको बारेमा समेत संक्षिप्त जानकारी दिएका छन् । उनले पोखरा–२५ वावियातराबाट पोखरा–१९ अकला जोड्ने मोटरेवल पुल निर्माण गर्ने, पोखरा–२५ को वडहरे र १९ को लामाचौर जोड्ने ३ सय मिटर बढी लम्बाई भएको झोलुङ्गे पुल निर्माण गर्ने भावी योजना वडाको रहेको कार्यक्रमा जानकारी गराएका छन् ।सो कार्यक्रममा उनले नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संम्वत र छठ पर्वको अवसरमा सम्पूर्ण आफ्ना वडाबासीहरुमा शुभकामना समेत व्यक्त गरेका छन् । यस्तै सोही कार्यक्रमा अध्यक्ष तिम्सिनाले निवर्तमान वडा अध्यक्षदेखि सम्पूर्ण सदस्यलाई सम्मान पनि गरेका छन् ।