पोखरा ।
सरिता गुरुङ्ग
गण्डकी प्रदेशमा आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ३६ वटा खेलहरु मध्ये महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले यस प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको हो ।
यस राष्ट्रिय प्रतियोगिता आश्विन २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुने भएतापनि महिला क्रिकेट खेल भने आश्विन २३ गतेबाट कात्तिक १ गतेसम्म संचालन हुने भएको छ ।
दश दिन सम्म संचालन हुने यस महिला क्रिकेट प्रतियोगिता पोखराको रंगशालाभित्र रहेको क्रिकेट मैदानमा हुँदैछ । यस खेलमा ९ टिमहरुको सहभागिता रहेको छ ।
सहभागी हुने ९ टिमहरुलाई दुई समुहमा विभाजन गरिएको छ । समुह “ए” मा नेपाल एपिएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बाग्मति प्रदेश रहेका छन् ।
त्यस्तै समुह “बी” मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश नं. १ र लुम्बिनी प्रदेशलाई समावेश गरिएको छ ।प्रतियोगिताको उद्घाटन खेल आश्विन २३ गते समुह “ए” अन्तर्गतका गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ भने दोस्रो खेल सोही दिन सोही समुहबाट सुदुरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच हुने भएको छ ।
यस्तै आश्विन २४ गते हुने दुई वटा खेलमा समुह “बी” अन्तर्गतका नेपाल पुलिस क्लब र कर्णाली प्रदेश मैदानमा भिड्ने भएका छन् भने दोस्रो खेल सोही प्रदेश नं. १ र लुम्बिनी प्रदेशबीच हुने भएको छ ।
समुहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने भएका छन् । यस नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेट भने यसअघि काठ्माण्डौंमा आयोजना भईसकेको छ । यस्तै यस प्रतियोगिता आयोजना हुन अब मात्र १४ दिन बाँकी रहेको छ ।