पोखरा ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड बडादशैंको चहलपहल आजैका दिनदेखि अझै बढ्ने गर्दछ ।आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । दशैंकोे पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता अनुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको छ । दशैैँका लागि पूजा सामाग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।
सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ । अध्यक्ष गौतमका अनुसार कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् । हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ ।