पोखरा
नेपालीहरुको महान चाड विजया दशमीको मुख्य दिन आज अर्थात टिका ग्रहण गर्ने दिन रहेको छ । आफुभन्दा ठूला मान्यजनबाट टिका ग्रहण गरी आर्शिवाद प्राप्त गर्ने प्रचलन सदियौंदेखि चल्दै आएको छ ।
आज टिका ग्रहण गर्ने साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विशेषगरी राज्य सञ्चालकका लागि उत्तम साइत आवश्यक पर्ने भएपनि अन्य सामान्य नागरिकका लागि भने टिकाको साईत कुर्न नपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
अध्यक्ष अधिकारीका अनुसार राज्य सञ्चालकहरुले शुभ साइतमा टिका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीइ वचन रहेकाले साइत दिइएको बताएका छन् । उनका अनुसार शुभ साइतमा नै टिका ग्रहण गर्दा देवीको शक्ति प्राप्त हुने पनि जनाएका छन् । समितिका अनुसार आज टिका लगाउँदा टिका लगाउने व्यक्ति पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने जनाएको छ ।
घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएको देवीलाई विसर्जनको साइत आज विहान १० बजेर ३४ मिनेटमा तोकिएको छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टिका, जमरा ग्रहण गरेर मनाइन्छ ।
नेपालको पुर्वी क्षेत्रमा विजया दशमीदेखि कोजाग्रत पुर्णिमाको दिनसम्म नै टिका लगाउने प्रचलन छ । तर पश्चिमी क्षेत्रमा भने विजयादशीका दिनमा मात्रै टिका लगाउने चलन छ । अहिले मानिसहरुको व्यस्तताका कारण समयमा नै टिका लगाउन नभ्याउनेले भने कोजाग्रत पुर्णिमाको दिन सम्म पनि टिका लगाउने गरेको पाईन्छ ।