नवौं राष्ट्रिय खेलकुदमा विभिन्न २३ खेलका इभेन्ट नहुने, सो खेलसंग सम्बन्धीत संघहरु भने अनविज्ञ
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा गण्डकी प्रदेशमा आयोजना हुन गई रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेलका विभिन्न इभेन्टहरु नहुने भएका छन् । इभेन्ट नहुनेमा आर्चारी, प्याराग्लाइडिङ, स्विमिङ, गल्फ, जुडो, जिम्याष्टिक, सफ्ट टेनिस, स्क्वायस र भारोत्तोलन रहेका छन् ।

यस प्रतियोगिता अन्र्तगतका उक्त खेलका इभेन्टहरुमा नियम अनुसार ४ टिम नपुगेपछि विभिन्न इभेन्टका खेलहरु नहुने भएका हुन् । इभेन्ट घटेसंगै पदक तालिका समेत प्रभावित बन्न पुगेको छ । जुडोतर्फको पनि जुडो मिक्स टिम इभेन्ट नहुने भएको छ ।

इभेन्ट खेलका लागि जुडोमा पनि नियम अनुसार ४ टिम नपुगेकाले जुडोको मिक्स टिम इभेन्ट नहुने बताइएको छ । तर यता नेपालका जुडो खेलका प्रमुख प्रशिक्षक बिरेन्द्र रञ्जितले भने आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन् । प्रशिक्षक रञ्जितले आफुहरुको खेलबाट सम्पूर्ण टिमहरु पुरा भएको तर अचानक यस्तो कुरा कहाँबाट आयो यस विषयमा आफु पनि अनविज्ञ भएको स्पष्ट पारेका छन् ।

उनले राखेपबाट कुनै पनि त्यस्ता खालका पत्राचार र सूचना हालसम्म प्राप्त नभएको जानकारी दिएका छन् । यदि राखेपबाट एकलौटी रुपमा यस्तो निर्णय भएको हो भने यस राष्ट्रिय खेलकुद प्रतियोगिताको कुनै औचित्यो नभएको जानकारी दिएका छन् ।

यस्तै यता जिम्याष्टिकतर्फबाट समेत २ इभेन्ट खेलहरु नहुने भएको छ । जिम्याष्टिक पुरुष पोमल हर्स अल राउण्ड इभेन्ट , जिम्याष्टिक महिला भल्टिङ टेबल अल राउण्ड इभेन्ट नहुने भएको हो । यस विषयमा हामीले नेपाल जिम्याष्टिक संघका कार्यालय सचिव प्रमेश्वर जोशीसंग सम्र्पक गर्दा उनले आफुहरुलाई सो विषया कुनैपनि जानकारी प्राप्त नभएको प्रतिकृया दिएका छन् ।

उनले आफलाई पनि पोखराका जिम्याष्टिकका प्रशिक्षकले सो विषयमा सोधेपछि मात्र थाहा भएको जनाएका छन् । उनले राखेपले यस्ता निर्णय गर्नु पूर्व कमसेकम खेलकुदका सम्बन्धित व्यक्तिहरुसंग छलफल गर्नुपर्ने बताएका छन् । यसरी सम्बन्धित खेलका प्राविधिक व्यक्तिहरु र प्रशिक्षकहरुलाई कुनै पनि जानकारी नदिई यदि राखेपले सो प्रकारको निर्णय गरेको हो भने यो एउटा गम्भीर त्रुटि भएको प्रतिक्रिया दिएका छन् ।

उनले राखेपले यसरी एकलौटी रुपमा निणर्य गुर्नपूर्व सम्बन्धी खेलहरुसंग बैठक बसि छलफल चलाएको भए के–कसरी अगाडी बढ्न सकिन्छ र कुन–कुन इभेन्टलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनि एउटा सहज वातावतरण सृजना हुनेथियो । तर यसरी विना जानकारी र विना छलफल राखेपको यो कदमले खेल क्षेत्रलाई कहिकतै पक्कै असर गर्ने जनाएका छन् ।

यसैबीच इभेन्ट खेल नहुने २३ खेलकहरुमध्ये सबैभन्दा बढी आर्चरी खेलको रहेको छ । आर्चरीका ७ वटा इभेन्टहरुमा पुरुष कम्पाउण्ड टिम, मिक्स टिम कम्पाउण्ड, मिक्स टिम रिकर्भ, मिक्स टिम स्टाण्डर्ड, महिला कम्पाउण्ड टिम, महिला रिकर्भ टिम र महिला स्टाण्डर्ड टिमका खेलहरु नहुने भएका हुन् ।

आर्चरीमा कुल १५ पदकबाट मात्रै ७ वटा स्वर्ण पदक घटेको छ । यसरी ७÷७ वटा इभेन्ट घटेसँगै नेपाल आर्चरी संघले चासो देखाएको छ । राखेपबाट के–कस्तो आधारमा यस्ता सूचना आएको आफुहरुलाई थाहा नभएको र यस विषयमा आफुहरु छलफलमा रहेको संघका सचिव योगेन्द्र शेरचनले जानकारी दिएका छन् ।

उनले आफुहरु यस विषयमा छलफलमा रहेकोले चाँडै निष्कर्शमा पुग्ने तर तत्काललाई भने केही भन्न नसक्ने बताएका छन् । त्यस्तै नेपाल सुटिङ संघका केन्द्रिय अध्यक्ष पुष्प दास श्रेष्ठले पनि आफुहरुको खेलका २ इभेन्ट नहुने भन्ने बारेमा कुनै पनि खबर राखेपबाट प्राप्त नभएको बताएका छन् ।

उनले अब प्रतियोगिता हुन जम्मा ७ दिन मात्र बाँकी भएको र त्यही अनुरुप आफहरुको खेलाडीहरुले तयारी पनि गरिरहेको बताउँदै खेल राष्ट्रिय स्तरको भयतापनि राखेपले भने बमोजिम अन्र्तराष्ट्रिय नियम अनुसार नै खेल संचालन हुने जनाएका छन् ।

यसै विषयमा नेपाल भारोत्तोलन संघका केन्द्रिय उपाध्यक्ष एंव कास्कीका अध्यक्ष समेत रहेका राजन कुमार बढ्गामीले अन्तिम समयमा आएर राखेपले कुनै जानकारी नदिई यस्तो निर्णय गरेको हो भने यो सरासर खेलकुद र खेलाडीमाथि नै गरेको प्रहार भएको बताएका छन् ।

उनले यस प्रतियोगिता कुनै क्लबले आयोजना गरेको प्रतियोगिता नभइ राष्ट्रिय प्रतियोगिता भएको कारणले कुनैपनि खेलमा टिम पुगेता पनि या नपुगेता पनि खेलाडीहरुले खेल्न पाउनुपर्ने स्पष्ट पारेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रेकर्डको लागि भएपनि सम्पूर्ण खेलसँग सम्बन्धीत विभिन्न इभेन्टहरुलाई राखेपले समावेश गर्नुपर्ने बताएका छन् । खेलाडीहरुले यस प्रतियोगिताका लागि भनेर लामो समयदेखि गरिरहेको मेहेनेतलाई राखेपले यसरी व्यर्थ जान दिन नहुने उनको भनाई पनि रहेको छ ।

उनले केहीसमयमा आफहरुको संघका पदाधिकारीहरु राखेपको कार्यालयमा जाने र यस विषयमा विस्तृत रुपमा बझ्ने पनि बताएका छन् । नवौं राष्ट्रिय प्रतियोगिता आयोजना हुन अब मात्र ७ दिन बाँकी रहेको छ । प्रतियोगिता आश्विन २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

यस प्रतियोगितामा समावेश हुने ३६ खेलमध्ये २३ खेलका विभिन्न इभेन्टहरु संचालन नहुने भएको हो । इभेनट नहुने खेलहरुमा आर्चरीसँगै प्याराग्लाइडिङ र स्विमिङको ३÷३, जिम्याष्टिक, भारोत्तोलन र सुटिङको २÷२, जुडो, गल्फ, सफ्ट टेनिस र स्क्वायसका १÷१ इभेन्टहरुका खेलहरु नहुने भएका हुन् । राखेपको एकलौटि यस प्रकारको निर्णयका बारेमा भने उक्त खेलसँग सम्बन्धीत सघंहरु भने अनविज्ञ रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्