पोखरा ।
सरिता गुरुङ्ग
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता आजबाट शुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ब्याटिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बलिङ गरी संयूक्त रुपमा सो प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटनसँगै समूह “ए” मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच पहिलो खेल भएको छ । सो प्रतियोगितामा मधेश प्रदेशले आयोजक गण्डकीलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको गण्डकीले १९ ओभरमा ३७ रनमा मात्र समेटिन पुगेको थियो ।
गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो भने यस प्रदेशका अन्य कुनैपनि व्याट्सउमनले दोहोरो अंक जोड्न सकेनन् । खेलको शुरुवातमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारको थियो ।
मधेश प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिएकी थिइन् । यस प्रतियोगितामा मधेश प्रदेशका अनुराध चौधरी प्लेयर अफ द म्याच हुन सफल भएकी छन् । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिएकी थिइन् ।
त्यस्तै आजै भएको सोही समूह अन्तर्गतको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा बाग्मती प्रदेशलाई सफलता मिलेको छ ।
सुदूरपश्चिम माथी बाग्मतीले ८ विकेटको जित हासिल गर्दै महत्वपूर्ण २ अंक जोड्न सफल भएको थियो । बाग्मतीको जितमा सोनी पाख्रिनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिईदै सो प्रतियोगितामा प्लेयर अफ द म्याच हुन सफल भएकी छन् । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर ७१ रनमा अलआउट भएको थियो ।