खेल सामाग्री र खेल मैदान व्यवस्थापनमा ध्यान नदिँदा हक्की खेल केही समय ढिला हुने
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आजबाट महिला र पुरुष हक्की सुरु हुँदैछ । पुरुष हक्की हेम्जा स्थित गौरीशंकर खेल मैदानमा हुने तय भईसकेको छ भने महिला हक्की लामाचौर स्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा हुने भएको छ ।

आज बिहीबार विहान ७ बजेबाट सुरु हुने भनिएको महिला हक्की प्रतियोगिता समयमा नै खेलाडीहरुले खेल सामाग्री र जर्सी नपाएका कारण दिउँसो १ बजेको लागि खेल सारिएको छ ।

हक्की संघका उपाध्यक्ष हिमाल खड्काका अनुसार खेल सामाग्री तथा पोसा व्यवस्थापन समितिले समयमा नै खेलाडीहरुलाई खेलको दौरान अति आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउन नसक्दा तोकिएको खेल समय भन्दा पछि सार्नु परेको जानकारी दिएका छन् ।

त्यस्तै यता, पुरुष हक्की विहान ११ बजेबाट सुरु गर्ने भनिएतापनि समयमा नै खेल मैदान तयार हुन नसक्दा प्रतियोगिता केही बेर ढिला हुने भएको छ । मैदानमा रहेका घाँस राम्रोसंग काटेर नसकेको हुनाले पनि खेल केही बेर ढिला हुने भएको हो ।

खेल संचालन गर्नका लागि खेल मैदानको मापदण्ड पूरा नभएपनि काम चलाउको हिसाबले मैदानको व्यवस्थापन जसोतसो गरेको समेत उपाध्यक्ष खड्काले बताएका छन् । पुरुष हक्की प्रतियोगिता भने अबको केही समयमा सुरु हुँदैछ ।

त्यस्तै यता, खेल स्थल व्यवस्थापन उप–समितिका सचिव कृष्ण प्रसाद तिमिल्सिनाले भने बाहिर हल्ला फिजाए जस्तो खेल मैदानको मापदण्ड पूरा भएन र खेल मैदान भएन भन्ने कुरा अपहवा मात्र भएको बताएका छन् । उनले खेल स्थलका लागि सम्पूर्ण तयारी आफुहरुको उप–समितिले राम्रोसंग व्यवस्थापन गरेको जानकारी दिएका छन् ।

यस्तै खेल सामाग्री र पोशाको सन्दर्भमा खेल सामाग्री तथा पोशाक व्यवस्थापन उप–समितिका संयोजक अन्जन धमलाले बाहिर हल्ला गरे जस्तो समयमा खेल सामाग्रीहरु खेलाडीहरुले नपाएको कुरामा सत्यता नभएको बताएका छन् ।

उनले बाहिर प्रदेशबाट आउने खेलाडीहरु समयमा नै नआइपुग्दा खेलसामाग्री वितरणमा केही ढिला भएतापनि आफुहरुको उप–समितिबाट सामाग्री वितरणमा कुनै ढिला सुस्ती नगरेको जानकारी दिएका छन् ।

हक्कीमा पुरुषतर्फ ९ तथा महिलातर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भने आश्नि २८ गते उप–राष्ट्रपति नन्द बहादुर पुनले गर्ने तय भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्