नवौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पुरा, उद्घाटन उप–राष्ट्रपति पुनबाट हुने
  • प्रमुख खबर

smart

पोखरा ।
सरिता गुरुङ्ग

गण्डकी प्रदेशमा झण्डै ३९ वर्षपछि आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितका सदस्य सचिव टंक लाल घिसिङले आश्विन २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

उनका अनुसार यस प्रतियोगिताको उद्घाटन भोलि शुक्रबार पोखरा रंगशालामा साँझ ४ बजे उप–राष्ट्रपति नन्द किशोर पुनबाट हुने भएको छ ।

उक्त प्रतियोगिता उद्घाटन समारोहमा नेपाली सेना, शसस्त्र प्रहरी, र नेपाल प्रहरीबाट प्रतियोगितामा सहभागि हुने ११ वटै टिमको मस्कट सहित मार्चपास हुने, ७ वटै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी गरिने, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शनी, विभिन्न सांस्कृतिक कार्यक्रम लगायत आतिशबाजी सहित विविध मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।

राखेप सदस्य सचिव घिसिङले यस प्रतियोगिताको उद्घाटन कार्यक्रममा सातौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारी तथा ओलम्पियन टिका बहादुर बोगटीबाट टर्च प्रज्वलन हुने बताएका छन् ।

आश्विन २८ अर्थात भोलिबाट औपचारिक रुपमा यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुने भएतापनि यस प्रतियोगिता अन्तर्गतका केही खेलहरु भने आश्विन २३ बाट नै जारी रहेका छन् ।

अहिलेसम्म पुरुष क्रिकेट भईसकेको छ भने महिला क्रिकेट, महिला तथा पुरुष ह्याण्ड बल, फेन्सिङ, महिला तथा पुरुष हक्की, महिला भलिबल, तेक्वान्दो र बुद्धिचाल जस्ता खेलहरु जारी भईरहेका छन् ।

हालसम्म जारी भईरहेको खेलहरुको प्राप्त नतिजा अनुसार बाग्मती प्रदेश ४ स्वर्ण १ रजतसहित पहिलो नम्बरमा रहेको छ भने नेपाल आर्मी ३ स्वर्ण ३ रजत र ६ कास्यसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै सुदूरपश्चिम १ स्वर्ण ३ कास्य सहित तेस्रो स्थानमा छ भने प्रदेश नम्बर १ ३ कास्य सहित चौथो नम्बरमा रहेको छ । यस्तै यस प्रतियोगिताको हालसम्म संचालन भईरहेका खेलहरुमा गण्डकी प्रदेश भने १ कास्य सहित पाँचौं स्थानमा रहेको छ । यस प्रतियोगितामा कुल ४ सय ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने समेत घिसिङले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद भएतापनि यसको होस्ट गण्डकी प्रदेश भएकोले प्रतियोगितालाई सबै मिलेर सफलताका साथ संचालन गर्न सम्पूर्ण पोखरेलीहरुमा आग्रह गरेका छन् ।

उनले नेपालमा जब २०७२ मा संघियता आयो त्सको जगमा खेलकुद ऐन २०७७ कार्यान्वयन भएसँगै संघियताको मोडलमा पहिलो पटक यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन गईरहेकोले यसको महत्व छुट्टै भएको पनि बताएका छन् ।

उनले कुनैपनि खेलकुदका लागि खेलाडीहरु भनेको सेलीव्रटी भएको बताउँदै यस प्रतियोगितामा उनीहरु धेरै नयाँ जोश र जाँगरका साथ खेल मैदानमा कति उत्रिएको र कति उत्रिन लागेको जनाएका छन् ।

खेलाडीहरुले प्राप्त गर्ने सफलतामा नै यस प्रतियोगिता जोडिएको समेत उनले बताएका छन् । यस प्रतियोगितामा ७ हजार १ सय ५७ खेलाडी, ६८ प्रशिक्षक र ४९ टिम म्यानेजर रहने भएका छन् ।

गण्डकी प्रदेशको ८ वटा जिल्लाहरु कास्की, तनँहु, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बाग्लुङका विभिन्न ठाउँहरु खेलहरु संचालन हनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्