पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला हक्की खेल आजबाट शुरु भएको छ । पुरुष हक्की पोखरा–२५, हेम्जा स्थित गौरी शंकर खेल मैदानमा र महिला हक्की लामाचौर स्थित गण्डकी बोडिङ स्कुलको खेल मैदाना आजबाट शुरु भएको हो ।
पुरुष हक्की विहान ११ बजेबाट सुरु गर्ने भनिएतापनि खेल मैदान समयमा नै तयार हुन नसक्दा केही समय ढिला गरि संचालन भएको थियो । त्यस्तै महिला हक्की विहान ७ बजेबाट शुरु गर्ने भनिएपनि समयमा नै खेलाडीहरुले खेल पोसाक नपाएकाले खेल संचालन गर्ने भनिएको समय अवधि भन्दा ६ घण्टा ढिला गरी खेल सुचारु भएको थियो ।
पुरुष हक्कीतर्फ आज भएको उद्घाटन खेलमा घरेलु टिम गण्डकी प्रदेशलाई नेपाल आर्मीले ४–० को पराकिलो गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । आर्मीका लागि राजेन्द्र कार्कीले खेलको ९ औं र २८ औं मिनेटमा गरि दुई गोल गर्न सफल भएका थिए ।
यस्तै ३७ औं मिनेटमा प्रदीप राजवंशी र ४२ औं मिनेटमा रोमन रानाले आर्मीका लागि थप १÷१ गोल गर्न सफल भएका थिए । आर्मीको ४ गोलसँगै घरेलु टिम गण्डकी फराकिलो गोल अन्तरले पराजित भएको छ ।
त्यस्तै आजै भएको महिला हक्की उद्घाटन खेलमा घरेलु टोली गण्डकी र प्रदेश १ बीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई ७–० को पराकिलो गोल अन्तरले हराउन सफल भएको छ ।
यससँगै महिला हक्कीतर्फ गण्डकीले आफ्नो विजयीको शुरुवात गर्न सफल भएको छ । महिला हक्की खेल भने लामाचौर स्थित गण्डकी बोडिङ स्कुलको खेल मैदानमा भएको थियो ।
खेलको १३ औं मिनेटमा गण्डकीका लागि सोनु बरालले शुरुवाती गोल गरेकी थिइन् । बरालले गण्डकीको लागि गरेको पहिलो गोलको २ मिनेटमा नै गण्डकीकै अर्का खेलाडी सविना पुन रानाले दोस्रो गोल गर्दै आफ्नो टिमलाई अगाडी बढाएकी थिइन् । त्यस्तै घरेलु टिम गण्डकीले खेलको १७ औं र २६ औं मिनेटमा कमला पुनले थप दुई गोल गर्न सफल भएकी थिइन् ।
खेलको ३४ औं मिनेटमा पुन सोनु बरालले १ गोल थप्न सफल भएकी थिइन् भने ४२ औं मिनेटमा कमलाले व्यक्तिगत तेस्रो गोल गरेकी थिइन् । यस्तै गण्डकीकै अर्का खेलाडी दिपशिखा पौडेलले आफ्नो टिमका लागि अन्तिमा १ गोल थपेकी थिइन् । योसँगै गण्डकीले प्रदेश १ लाई फराकिलो गोल अन्तरका साथ हराउन सफल भएको छ ।