पोखरा ।
कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् ।
विहिबार घरदैलो गर्दै पोखरा १६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफु निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘अर्मलाकोटको समस्या भनेकै सडक हो । यहाँ बाह्रै मासे सवारी चल्न सक्ने सडकको आवश्यकता छ । सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु । कति काम हिजो सरकारमा हुँदा पनि गरियो । अब निर्वाचित भएपछि पनि अर्मलाकोट सम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काममा लाग्नेछु ।’,
उनले भने, थापाले नारायण स्थान, भलाम हरिहर गुफा, डाँडागाउ हुँदै अर्मला कोटसम्म पुग्ने गौरवको सडक सम्पन्न हुने अवस्थामा रहेको जानकारी गराए । उनले भलामबाट आँटिघर मौज हुँदै बाटुलेचौर जोडिने रिङरोडको काम समेत अगाडि बढेको र त्यसलाई सम्पन्न गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
थापाले पोखरा १६ लाई सम्वृद्ध वडा बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘हिजो पनि हामीले गर्न सक्ने सम्मका काम गरेका छौं । थुप्रै योजनाहरु वडामा परेका छन् ।
आगामी समय पनि यहाँको आवश्यकता अनुसारको योजनालाई अगाडि बढाउनेछु ।’,उनले भने ।उनले घार्मीदेखि अर्मला कोटसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने प्रतिबद्धता जनाए ।
समाज घरका निर्माण, गोरेटो बाटो र फोहोर व्यवस्थापनमा समेत पहलकदमी गर्ने भनाई उनको छ । होमस्टेको स्थापना गरी उद्यमशीलताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति उनको छ ।