मंसिर १२, पोखरा ।।
नेवारी संस्कृतिमा आफ्नो छुट्टै महत्व बाकेको भैरव नृत्य पोखरामा हुने भएको छ । यो नृत्य नेवार समुदायको मात्र संस्कृति र परम्परा नभइ पोखराका प्राचीन संस्कृतिमध्येको एक महत्वपूर्ण संस्कृति पनि हो ।
पोखराको नेवार समुदायले यस नृत्य संचालनको अभिभारा शुरुदेखि नै बहन गर्दै आएको भएतापनि वि.स.२०२९ मा भैरव संस्कृतिक संरक्षण समिति गठन गरि संस्थागत रुपमा यो नृत्य संचालन हुँदै आएको छ । सुरुवातमा प्रतेक १२ वर्षमा आयोजना हुँदै आएको यो नृत्य पछिल्लो समयमा प्रतेक ६ वर्षको अन्तरालमा हुने गरेको छ । साँस्कृतिक धरोहर श्री भैरव नृत्यमा भय र दण्डका देवताको रुपमा हिन्दु र बौद्ध संस्कृतिमा प्राचीनकालदेखि नै भैरवको पुजा हुँदै आएको छ । यो नृत्य मंसिर १५ गतेदेखि शुरु भई चैत्र मसान्तसम्म संचालन हुने समितिका अध्यक्ष तिर्थमान प्रधानाङ्गले जानकारी दिएका छन् ।
नृत्यबारे जानकारी दिने उद्देश्यसहित आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष प्रधानाङ्गले तन्त्रोक्त विधिबाट पुजा गरिने भैरवका विभिन्न रुपहरु भएको बताएका छन् । भैरवको पुजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको बताएका छन् । भैरव, काली, इन्द्रायणी, वराह, कुमारी, विष्णुवी, गंगाजु, गणेश, दागिनी, भूच्चा र कवाङ गरि बाह्र पात्रको मुखुण्डो लगाएर नाचिने यो नृत्य शास्त्रीय भजनमा आधारित रहेको जानकारी दिएका छन् । पोखरामा भैरव नृत्यको साँढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उनले भने, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वाधानमा शुरु भएको हो । यो नृत्य प्रतेक १२ वर्षमा हुँदै आएकोमा २०२९ बाट भने प्रतेक छ वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ । ”
अध्यक्ष प्रधानाङ्गका अुनसार पोखराको पुरानो यस साँस्कृतिक सम्पदाकाप्रति सबै समुदायका पोखरेलीहरुको निरन्तर सहयोग र सद्भाव प्राप्त भईरहेको बताएका छन् । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अंकित हुलाक टिकट प्रकाशन गरेको पनि उनले जानकारी दिएका छन् । उनका अनुसार यस नृत्यमा उपयोग गरिने मुखुण्डोहरुलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराईने हुनाले यो तन्त्रमा आधारित भएको पनि बताएका छन् । मृदङ्गा खिं झ्याली, ताः धाः, सहनाइ, मुहाली को वादनका माध्यम संगित सृजना गरिने यस नृत्यमा सामान्य तथा १२ नर्तक, ३० गायक , १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृचैत्य कलाकार, १० स्वयम सेवक र अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरि १०६ जनाको सहभागिता रहने पनि उनले बताएका छन् । यस नृत्य पर्दशनका गर्न निकै खर्चिलो हुने गरेतापनि विभिन्न संघसंस्था र सहयोगदाताहरुबाट प्राप्त सहयोगले सहज भएको समेत बताए ।