अपाङ्गता भएका व्यक्तिहरु राज्यको प्राथमिकतामा नपरेकोमा एनएफडिएन गण्डकीका अध्यक्ष शर्माद्धारा गुनासो
  • प्रमुख खबर

सरिता गुरुङ्ग
पोखरा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशले अपाङ्गता भएका व्यक्तिको ३१ औँ अन्र्तराष्ट्रिय दिवस मनाउने भएको छ । महासंघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि यस अवसरमा विविध कार्यक्रम गरि उक्त दिवस मनाईने जानकारी दिएको हो । यो दिवस प्रतेक वर्षको डिसेम्बर ३ तारिकका दिन संसाभर विभिन्न कार्यक्रमको आयोाजना गरि मनाउने गरिन्छ ।

विशेषगरी अपाङगता भएका व्यक्तिहरुको अधिकारका सवालहरुलाई विश्वव्यापी रुपमा उजागर गर्न र विश्व समुदायको ध्यान यसतर्फ केन्द्रित गर्न सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आव्हानमा संसारभर यो दिवस मनाउन थालिएको हो । यस वर्षको राष्ट्रिय नारा “समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशीलतको प्रावधान” तय गरिएको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडिएन) गण्डकी प्रदेश र आई.एन.एफ.नेपालको समन्वयमा यो दिवस मनाउन लागिएको महासंघका अध्यक्ष खोमराज शर्माले जानकारी दिएका छन् । उनका अनुसार शनिबार विहान ९ बजे मानव अधिकार चोकबाट ¥याली शुरु भई न्यूरोड हुँदै पोखरा सभागृहमा पुगी सभा समारोह कार्यक्रम हुने बताएका छन् ।

अध्यक्ष शर्माले अपाङ्गता भएका व्यक्तिका आवश्यकता र समस्यालाई संबोधन गर्न संविधानले स्थानीय सरकारलाई जिम्मेवार बनाएको भएतापनि स्थानीय तहबाट प्रदान गरिने सबै सेवा सुविधाहरुमा उनीहरुको पहुँच पुग्न नसकेको र उनीहरु परिवार तथा समाजमा विभेद, हिंसा साथै अपमानजनक जीवन बाँच्न विवस भएको समेत बताएका छन् ।

उनले अपाङ्गता भएका व्यक्तिहरु राज्यको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । उनले यस्ता समस्याहरु समाधानका निम्ति प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई फोकस गरेर अधिकार सम्पन्न प्रतिष्ठान बनाउनुपर्ने बताएका छन् ।

त्यस्तै उक्त कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले सिमित स्रोत साधान भएको कारणले आफुहरुले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि सोचे अनरुपको काम गर्न सक्ने अवस्था नभएको बताएकी छन् । उनले आफुहरुको महाशाखाबाट अपाङ्गता भएका व्यक्तिहरुका समस्या समाधान गर्ने प्रयास भईरहेको जानकारी दिएकी छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्