समूदायका आवाज रेडियोले समेट्नुपर्ने सरोकारवालाको सुझाव
  • प्रमुख खबर

मंसिर १७ पोखरा
गण्डकी प्रदेशका सरोकारवालाहरुको सामूदायिक रेडियोले समूदायमा पुगेर समूदायका आवाज उठान गर्न सुझाव दिएका छन् । युनेस्को अफिस, सामूदायिक रेडियो प्रसारक संघ र अमार्क एसिया प्यासिफिकको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गरिएको सामूदायिक रेडियोको भावी नीति निर्माण सम्बन्धी प्रदेशस्तरीय बैठकमा उक्त सुझाव आएको हो ।

बैठकमा सामूदायिक रेडियोका प्रतिनिधीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, जातीगत तथा भाषगत क्षेत्रका विज्ञहरु सहित सरकारी कार्यालयका प्रमुखहरु सहभागि हुनुभएको थियो । कार्यक्रममा रेडियोहरुको वर्तमान समस्या, भावी कार्यक्रम, जातीगत भाषा र पहिचानको विषयमा छलफल भएको छ । साथै कार्यक्रमका गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायले सामूदायिक रेडियोहरुलाई गरेका र गर्नुपर्ने सहयोगका बारेमा पनि चर्चा गरिएको थियो । सरोकारवालाहरुले सामूदायिक रेडियो समूदायको सारथी भएको हुनाले समूदायका आवाजलाई यथेष्ठ रुपमा सामावेश गर्नुपर्नेमा जोड दिनुभएको थियो । रेडियोका प्रतिनिधीहरुले रेडियोमा भएका समस्याहरु र आगामी दिनमा गर्न सकिने कामहरुको बारेमा सुझाव राख्नुभएको थियो ।

गण्डकी प्रदेशमा सामूदायिक रेडियोको अवस्था र रणनीतिका बारेमा सामूदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेशका सचिव रोशन तिवारीले प्रस्तुती राख्नुभएको थियो । आदीवासी जनजाती समूदायको अपेक्षा र रेडियोले खेल्दै आएको भूमिकाका बारेमा रेडियो सुनौलोका व्यवस्थापक रिता गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले सामूदायिक रेडियोको नीतिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बञ्जरा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी,बन निर्देशनालय गण्डकीका प्रमुख रामकाजी श्रेष्ठ, हुलाक निर्देशनालयका शाखा अधिकृत तुलसीप्रसाद आचार्य लगायतले आफ्ना धारणा राख्नुभयो ।

रेडियो लाई विधागत रुपमा सञ्चालन गर्न पनि सहभागिले सुझाव दिनुभयो । सामूदायिक रेडियोले भाषा, भेषभुषा, जातीय अधिकार, लैगिंक समानता कायम गर्दै आएकोमा कार्यक्रममा सहभागीहरुले प्रसंसा गर्नुभएको थियो । कार्यक्रम सामूदायिक रेडियो लेखनाथ पोखराका अध्यक्ष रामकृष्ण जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामूदायिक रेडियो प्रसारक संघ कास्कीका संयोजक मोतीसागर अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्