पोखरा, २३ मंसिर
अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवमा तयारी तिब्र पारेको छ । ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको बारेमा बिहीबार पोखरामा पत्रकार सम्मेलनका आयोजना गरेर ५ दिने सडक महोत्सवको तयारी तिब्र पारेको जानकारी दिएको छ । पुष १३ देखि १७ गतेसम्म पोखरा लेकसाइडको ३ किलोमिटर सडकमा महोत्सव आयोजना गर्न लागिएको रेबान पोखरामा अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए ।
पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल रुपमा प्रवद्र्धन गर्न रेबानले महोत्सव गर्दै आएको उनले बताए । महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रर्दशन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिने छ ।
महोत्सवमा सात वटै प्रदेशका सांस्कृतक कार्याक्रमका साथै भारतको साँस्कृतिक कार्यक्रम समाबेस हुने भट्टराईले बताए । महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव सम्पन्न गर्न करिब ८० लाख आम्दिानी र ७० लाख खर्च हुने अनुमान छ । महोत्सवकै अवसरमा होटल संघ पोखराले २० प्रतिशत कोठामा छुट दिने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।