सरिता गुरुङ्ग
पोखरा, २८ मंसिर ।।
मनवता प्रवर्द्धनका साथै मानव सेवा आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनार्थको लागि पोखरामा “नेपथ्य लाइभ कन्सर्ट” हुने भएको छ । चर्चित सांगीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रमले नेपालका प्रमुख १० शहरहरुमा नेपथ्य लाइभ कन्सर्ट आयोजना गरिरहेको छ । सोही कार्यक्रम अन्र्तगत पोखरामा पनि उक्त कन्सर्ट हुन लागेको हो । “मानवताका लागि संगीत” भन्ने नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा पौष १२ गते उक्त लाइभ कन्सर्ट हुने भएको हो । यस कन्र्सटमा लगभग ८ हजारको हाराहारीमा पोखरेली दर्शकहरुको सहभागीता हुने आकलन आयोजकले गरेको छ ।
पोखरा–२५ हेमजामा बन्दै गरेको आश्रमको तीन तले भवन निमार्णका लागि आर्थिक अभाव भएसँगै सो सांगीतिक कार्यक्रम गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ ।
भवन निर्माणका लागि कुल १० करोडको लागत लाग्ने सो कार्यक्रमका संयोजक विशेश्वर आचार्यले जानकारी दिएका छन् । हालसम्म आश्रमले ५ करोड रुपैँयासम्मको भवन निर्माणको काम सम्पन्न गरिसकेको उनले बताएका छन् । भाडाको घरमा शुरुवात भएको सेवालाई प्रभावकारी र दिगो बनाउन बायिबतरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गा भोगाधिकार प्राप्त भएसँगै आश्रमले आफ्नै भवन निर्माण कार्य शुरु गरेको हो ।
उक्त कन्सर्ट कार्यक्रमका संयोजक आचार्यका अनुसार सो क्षेत्रमा गुरुयोजना तयार गरी मानवसेवा आश्रम, मानवत अध्ययन केन्द्र, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ तिर्थयात्रीहरुका लागि धर्मशाला, शाश्वतग्राम लगायतका बृहत र मानवीय संवेदनालाई जोड दिने भौतिक संरचना पनि निर्माण हुने बताएका छन् ।आश्रम निर्माणपछि यहाँ २ सय ५० जना जना सहयोगापेक्षी सडक आश्रित मानव राख्न सकिने आयोजकले जनाएको छ । मंसिर १६ गते विराटनगरबाट शुरु भएको उक्त कन्सर्ट वीरगञ्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत र बुटवलमा भव्यताका साथ सम्पन्न भईसकेको छ । नेपालकै पर्यटकीय नगरी पोखरामा भने पौष १२ गते हुँदैछ भने काठ्माण्डौंमा १६ गते हुने भएको छ ।
मानवीयतको राष्ट्र नेपालको अवधारणालाई व्यवहारीक रुपमा कार्यान्वयन गराउन आवश्यक कार्य गर्ने र गराउने दीर्घकालिन योजना सहित अगाडी बढेको यस आश्रमले वेसहारा, अशक्त, असहाय, अनाथ, अधिभावकबिहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको व्यवस्थापन, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानलाई सक्रिय रुपमा अगाडी बढाईरहेको छ ।
हेटौंडामा मुख्य कार्यालय रहेको यस आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हालसम्म देशैभर गरेर झण्डै १ हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । वि.सं.२०८२ सम्ममा नेपालका सडकपेटीलाई सडक आश्रित मानवरहित बनाउने योजनाका साथ यस आश्रम अघि बढि रहेको छ । पोखरा–१७, छोरेपाटनमा वि.सं.२०७४ चैत्र १७ गते स्थापना भएको यस आश्रम नवौं शाखाको रुपमा रहेको छ । हाल १ सय २ जना पुरुष, ६३ महिला गरी १ सय ६५ जनाले सेवा प्राप्त गरिरहेका छन् ।