सरिता गुरुङ्ग
पोखरा ।
लुम्बिनी गार्डेन फाउन्डेसन र कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरामा आयोजना हुने मैत्रीपूर्ण फुटबल खेलको सम्पूर्ण तयारी पुरा भएको छ ।
“गौतम बुद्ध जन्मेको हाम्रो देश नेपालबाट शान्तिका लागि फुटबल” भन्ने नाराका साथ पोखरा रंगशालामा पौष १३ गते हुने यस मैत्रीपूर्ण फुटबल खेलको सम्पूर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
यस मैत्रीपूर्ण खेलमा पहिलो पटक स्पेनको बि डिभिजनको क्लब फुटबल खेल्नको लागि स्पेनबाट ५५ जनाको जम्बो टोली आज पोखरा आइपुगेको छ । प्रतियोगितामा स्पेनको काथेरेन्यो क्लब र नेपालको गण्डकी ११ टिमबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
पोखरामा यस मैत्रीपूर्ण फुटबल खेल खेलेलगतै दशरथ रंगशालामा काठ्माण्डौंको टिम ११ सँग पौष १४ गते प्रतिस्पर्धा गर्ने लुम्बिनी गोर्डेन फाउन्डेशन स्पेनका महासचिव एकराज गिरीले जानकारी दिएका छन् ।
विशेषगरी वल्र्ड कप र यूरो कप जस्ता खेलहरु खेली सकेका खेलाडीहरु पोखरा र काठ्माण्डौंको मैदानमा खेल्नु नै हामी नेपालीको लागि एउटा ठूलो उपलब्धी र ऐतिहासिक हुने उनले बताएका छन् ।
यता, काथेरेन्यो क्लबका अध्यक्ष जोसे मानुयलले काथेरेन्यो क्लब स्पेनको बि डिभिजनको माथिल्लो स्तरको क्लब भएको बताएका छन् । यस क्लबबाट खेल्ने खेलाडीहरु व्यवसायिक भएकाले पनि बुधबार पोखरामा हुने खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने जानकारी दिएका छन् ।
त्यस्तै यस क्लबका प्रशिक्षक खुलिओ कोबोसले सन् २०२३ जनावरी ४ तारिकमा रियल म्याड्रिडसँग खेल्ने खेलाडीहरु भएकोले गण्डकी ११ सँग हुने मैत्रीपूर्ण खेल आफुहरुको लागि वार्मअप म्याच हुने बताएका छन् ।
यता, गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङ्गले आफुहरुको टिममा राम्रा खेलाडीहरु भएको हुदाँ भोलि हुने खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् । स्पेनिस क्लबमा स्पेनको प्रतिनिधित्व गर्दै विश्व कप खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो पनि रहने आयोजकले जनाएको छ ।
टिम गण्डकी ११ मा भने अनिल गुरुङ्गको कप्तानीमा दिप कार्की, राजा बाबु मगर, आशिष गुरुङ्ग, रन्दिप पौडेल, मान बहादुर तामाङ्ग, सुमित श्रेष्ठ, सरोज योञ्जन, जीवन गुरुङ्ग, बिसन गुरुङ्ग, कमल बहादुर थापा, विजय श्रेष्ठ, दिपेश आले मगर, शान्त बहादुर गुरुङ्ग, लक्ष्मण रुचाल र सुवास गुरुङ्ग रहेका छन् ।
फाउन्डेशनले दिएको जानकारी अनसार यस मैत्रीपूर्ण खेललाई संसारका अन्य देशहरु चाईना, हंङकङ, म्यानमार, थाईल्याण्ड, भियतनाम लगायतका विभिन्न देशहरुमा पनि आयोजना गर्ने बताएको छ ।