पोखरा ।।
लायन्स क्लब अफ पोखरा ग्रीन वेभले गरेको खुला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ । क्लबको वार्षिक कार्यक्रम अन्तरगत आज बिहान पोखरा स्थित बाग्लुङ बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रमुख अतिथि डिस्ट्रीक गभर्नर लायन महेन्द्र पौडेलले रक्तदान जीवन दान भएको बताए । लायन पौडेलले भने ” रक्तदान कुनै सङ्घ/संस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो।”
क्लबका अध्यक्ष लायन लक्ष्मी लामाले रक्तदान मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर पाउने धर्म भन्दा कयौं गुणा ठूलो पुण्यक काम भएको बताइन । लामाले भनिन “कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं ।रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन ।” स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् भने गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।
कार्यक्रममा प्रथम भाइस डिस्ट्रीक गभर्नर भिमलाल पौडेल ,द्वितीय भाइस डिस्ट्रीक गभर्नर चण्डी प्रसाद अर्याल , ब्लड डोनेसन चिफ मोहन सुवेदी, चार्टर प्रेसिडेन्ट लायन कृष्ण कुमारी श्रेष्ठ, जिएमटी कोअर्डिनेटर तथा जोन चियर्प्रसन गोमा कार्की बास्कोटा लगायतले आफ्नो भनाई राखेका थिए ।क्लबका सचीव लायन सरस्वती पुरिले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रामचन्द्र सुनारले गरेका थिए ।