अनधिकृत रुपमा सिमसार क्षेत्रमा गरिएको प्लटिङमा चल्यो डोजर
  • प्रमुख खबर

सरिता गुरुङ्ग
पोखरा ।

अनधिकृत रुपमा फेवातालको माथिल्लो सिमसार क्षेत्रमा गरिएको प्लटिङमा डोजर चलेको छ । मंगलबार पोखरा महानगरपालिकाले सो क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका प्लटिङमा डोजर चलाएको हो ।पोखरा महानगरपालिका अन्र्तगत वडा नम्बर १८ र २४ मा पर्ने फेवातालको किनारमा रहेको कित्ता नं।१४०४–५, १२७३, १२७४, २२१८–२०, ३३८८–९१ लगायतका जग्गाहरुमा प्रचलित कानुन बमोजिम सम्बन्धित वडा कार्यालय तथा महानगरबाट कुनैपनि अनुमति नलिई अटेरी गरी डि।पि।सि।गर्ने अवैधानिक कार्यदेखि लिएर प्लटिङ गर्ने मिसिनरी समान प्रयोग गरी माटो उत्खन्न गर्ने कार्य भई रहेको फिल्ड प्रतिवेदनमा देखिएको हुँदा सो कित्ता नं।का जग्गाहरुमा बनेका अस्थायी प्रकृतिका सम्पूर्ण संरचनाहरु जिल्ला प्रशासनको सहयोगमा महानगरले डोजर चलाएर हटाएको हो ।

सो सिमसार क्षेत्रमा गरिएको प्लटिङ भत्काउन नगर प्रहरीसहित जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको टोली फेवा फाँटमा पुगेका थिए । कृषि प्रयोजनका लागि भन्दै अनुमति लिएर सिमसार क्षेत्रमा प्लटिङ गरिएका कारण नै महानगरले डोजर चलाएको नगर प्रहरी इन्चार्ज पुरुषोत्तम थापाले जानकारी दिएका छन् ।

सो क्षेत्रमा जग्गा व्यवसायी देवेन्द्र के।सी,प्रकाश के।सी। र नगेन्द्र सुवेदीले अवैधानिक रुपमा बनाएको प्लटिङमा महानगर प्रमुख धनराज आर्चायको निर्देशनमा डोजर चलाएको नगर प्रहरी इन्चार्ज थापाले बताएका छन् । इन्चार्ज थापाका अनुसार के.सीद्धयको करिब ७० देखि ८० रोपनी जग्गा र सुवेदीको करिब १० रोपनी जग्गामा गैरकानुनी रुपमा गरिएको प्लटिङमा महानगरले डोजर चलाएको हो ।

महानगरले पटक पटक सम्पर्क गर्दा समेत ती व्यक्तिहरु सम्र्पकमा नआएको र यदि उनीहरुले अटेर गरि सो जग्गामा पूनःयस्ता अबैध कार्य गरेको खण्डमा महानगरले त्यसविरुद्ध कारबाही गर्ने पनि उनले बताएका छन् । केही समय अगाडी मात्र उनीहरुले कृषिको लागि भन्दै महानगरबाट अनुमति लिई वाईयुके कन्स्ट्रक्सनका संचालक युवराज खतिवडालाई ठेक्का दिएर सिमसारलाई दिनदहाडै पुर्न लगाएका थिए ।

सो क्षेत्रमा खतिवडाले करिब ५ सय रोपनी जग्गालाई कृषि योग्य जमिन बनाउने भन्दै माटो पुर्दै आईरहेका थिए । उक्त विषयलाई लिएर महानगर प्रमुख आर्चायको चर्को आलोचना समेत भएको थियो । सो आलोचना पश्चात खतिवडाले डोजर लगाएर पुरदै आईरहेको सिमसार क्षेत्रमा महानगरले यसअघि पटक पटक डोजर नियन्त्रण लिने देखि जरिवाना पनि लगाएको थियो । तर महानगरले रोकेको एक साता नबित्दै खतिवडाले पुनः मजदुरहरु लगाई पुर्न लगाएका थिए । महानगरका अनुसार अनुमति बेगर सिमसार क्षेत्रमा बनाएका सबै घडेरी संरचना भत्काउने तयारी गरेको हो ।

वि।स।२०३१ सालसम्म फेवातलको पानीको भू–भाग पामे नजिकैको चंखपूरसम्म फैलिएको तथ्य छ । फेवातलाई सरकारले २०७९ माघ १६ गते संरक्षित जलाधार क्षेत्र घोषणा गरेको थियो । यो क्षेत्र रामसार सूचीमा सूचीकृत समेत छ । तर यसको उचित संरक्षण भने हुन सकेको छैन । सरकारको नीति तथा कार्यक्रममा पर्यावरण, स्वच्छ वातावरण र हराभराका कुराहरु सैद्धान्तिक ढंगलेमात्र उल्लेख हुने गरेको तर यसबारेमा कुनै ठोस नीति र कार्यक्रम भने छैन ।

यस्तै पछिल्लो पाँच वर्षयता फेवाताल आसपासमा रहेका रामसारहरु पुरिन थालेका छन् । रामसारलाई आवास क्षेत्रमा परिणत गर्दै राज्यले नै रामसार मास्ने गरेको छ । पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ । महानगरले नै जग्गा वर्गीकरण गर्दा आवासीय बनाएकाले आफूले जग्गा सम्याएको निर्माण व्यवसायीहरुले बताएका छन् ।

विशेषगरी केही भू–माफियाहरुका कारण नै यस क्षेत्रमा डोजर र टिपर चल्दा फेवाताल रोइरहेको र यसको प्रमुख कारण राज्य नै भएको कतिपय पोखरेली जनताहरुले बताउने गरेका छन् । यसरी सम्बन्धीत निकायका व्यक्तिहरुको कमजोरी र लापरवाहीका साथै बेलाबखतमा राज्यबाट नै भू–माफियाहरुलाई हुने संरक्षणका कारण फेवातालको आयू समेत घट्दै गएको छ । जबसम्म त्यस्ता भू–माफियाहरु सल्बलाउँछन् र उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गर्ने काम सम्बन्धीत निकायहरुबाट हुँदैन तबसम्म फेवातालमाथिको चौतर्फी आक्रमण नरोकिने जानकारहरुले बताउने गरेका छन् ।

विश्वकै १३ औं सुन्दर तालका रुपमा रहिआएको यस तालमा कहिले जथाभावी फोहर विसर्जन गर्ने, कहिले शक्तिकेन्द्रका आडमा सिमसार पुर्नेदेखि लिएर विभिन्न गैर क्रियाकलापका कारण नै यसको आयु घट्ने क्रममा छ । तीन वर्षअघि फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको थियो । प्रतिवेदन अनुसार फेवातालको क्षेत्रफल ५।७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल संयोजकत्वको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले दिएको प्रतिवेदनलाई आधार मान्दै मन्त्रिपरिषद्ले तालको क्षेत्रफल निर्धारण गरेको हो । तर, सार्वजनिक गरिएको क्षेत्रफलको विषयलाई लिएर सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले गरेको अध्ययन अनुसार फेवातालको क्षेत्रफल १२ हजार आठ सय ७४ रोपनी ९६।५४ वर्गकिलोमिटर० थियो । ०६९ जेठमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार आठ सय ७४ रोपनीमध्ये नौ हजार नौ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो ।

अहिले लामिछाने प्रतिवेदनले औँल्याएभन्दा १५ सय ४५ रोपनी क्षेत्रफल खुम्चिएको छ । ०३८ मा युएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ११ हजार चार सय रोपनी ९५।८ वर्गकिलोमिटर० तोकेको थियो । तालको क्षेत्रफल ०१८ मा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल ०३१ मा ६, ०३८ मा ५।८ र ०६९ मा ५।०६ वर्ग किलोमिटर पानीको मात्रा उल्लेख थियो । अहिले मापन गरेको क्षेत्रफल ०३८ को भन्दा पनि थोरै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्