जलकुम्भी झार फाल्न भन्दै काममा खटाएका ७० जना जलारीहरुले अझै पाएन्न महानगरबाट ज्याला
  • प्रमुख खबर

सरिता गुरुङ्ग
पोखरा ।

विश्कै १३ औं सुन्दर तालका रुपमा रहिआएको फेवातालमाथि पछिल्ला केहीवर्ष यता चौतर्फी रुपमा विभिन्न गतिविधिका कारणबाट आक्रमण हुने गरेको छ । कहिले शक्तिकेन्द्रका आडमा सिमसार पुर्ने क्रियाकलाप होस् या कहिले जथाभावी रुपमा फोहोर बिसर्जन गर्ने गतिविधिका कारण फेवातालमाथी आक्रमण हुने गरेको छ ।

यी सबै गतिविधिलाई फेवाताल संरक्षण सम्बन्धि विभिन्न कालखण्डमा बनेका कानुनले अपराधका रुपमा समेत लिएको छ । तर पनि यस्ता गतिविधिहरु पूर्ण रुपमा रोकिएको भने छैन । ताल अतिक्रमणदेखि लिएर फोहोर बिसर्जन जस्ता अवैधानिक गतिविधिले तालको सुन्दरतामा ह्रास आउँने काम भइरहेको छ भने यता वर्षायाम लागेसँगै फेवातालमा जलकुम्भी झार फैलिएर अहिले ताल कुरुप बनेको छ ।

तालमा फैलिएको जलकुम्भी सफाईका लागि भन्दै फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिकाले नागरिक समाजसँगको सहकार्यमा अषाढ २ गतेका दिन जलकुम्भी सफाइ कार्यक्रम आयोजना गरेको थियो । सो सरसफाई कार्यक्रमका लागि भन्दै महानगरले सम्पूर्ण नगरबासीहरुमा अपिल समेत गरेको थियो ।

फेवातालको सुन्दरतामा कमि हुन नदिन जलकुम्भी झार सफाइ अभियानमा सहभागी हुन सम्पूर्ण नगरबासीहरुमा समेत हातेमालो गर्न अपिल गरेका महानगरका प्रमुख धनराज आचार्यले पछिल्लो केही समय यता फेवातालमा फैलिएको जलकुम्भी हटाउन जलारी समुदायका ७० जना मजदुरहरुलाई दैनिक काममा खटाएका थिए ।

ताल सरसफाइका लागि भन्दै महानगरपालिका मात्र नभएर महानगरभित्रका दुई वटा वडा कार्यालय वडा नम्बर ६ र १८ को पनि सहयोग रहने भन्दै तीन वटै कार्यालय मिलेर जलकुम्भी सफाइमा खटिएका मजदुरहरुलाई दैनिक ज्याला दिने सर्तमा जलकुम्भी सफाइको काममा खटिएको खुशी जलारीले जानकारी दिएकी छन् ।

त्यही अनुरुप नै आफुहरु फेवाताल सफाईमा टन्टला पूर घाम पनि नभनि लगातार खटिएको तर काम गरेको तीन दिन बितिसक्दा पनि महानगरबाट ज्याला दिने कुनै सुरसार नभएकोले तत्कालका लागि काम रोक्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् ।

जलारी खुशीका अनुसार बाचा गरे अनुसारको रकम त दिन नखोज्ने र नसक्ने महानगरले सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्नु भन्दै दिएको आदेश दृढताका साथ कार्यान्वयन गर्छु भनेर पोखराका मेयर धनराज आचार्यले जुन कुरा बोलका छन् त्यो कसरी कार्यान्वयन गर्छ भनेर हामीले विश्वास गरौं भनेर शंका व्यक्त गरेकी छन् ।

यस्तै हर्पन फेवा मस्य सहकारी संस्थाका अध्यक्ष सोम जलारीले मौखिक रुपमा भएको सम्झौता अनुरुप आफुहरुले तीन दिनसम्म लगातार काम गरेतापनि पाउनुपर्ने ज्याला नपाएको गुनासो गरेका छन् । उनका अनुसार वडा नं ६ बाट पाउनुपर्ने रकम आफुहरुले पाएको, वडा नं. १८ बाट १२ गते, मंगलबार पारिश्रमिक लिनका लागि बोलाएको तर महानगरपालिकाबाट भने कुनै किसिमको जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।

उनले आफुहरुको समुदायको जुन संस्था छ, फेवा मस्य सहकारी संस्था उक्त संस्थामा महानगरबाट त्यहाँ मजदुरहरुले प्राप्त गर्नुपर्ने ज्याला जम्मा गरिदिएको भएपनि आज काम नरोकिने जानकारी दिएका छन् । दुई दिन फेवातालको जलकुम्भी सफाइ नगर्दा ताल नै पुरिएको बताएका छन् ।

अध्यक्ष जलारीले केही दिन अगाडी मात्र महानगरका प्रमुख आचार्यले सोही स्थानमा आएर फेवातालमा फैलिएको जलकुम्भी झार हटाउन आफुले बजेट समेत छुटाने भन्दै प्रतिवद्धता व्यक्त गरेतापनि सो प्रतिवद्धता औपचारिकता मात्र निभाउने काम भएको तर व्यवहारमा लागु नदेखिएको बताएका छन् ।

उनका अनुसार विगतका दिनपनि महानगरबाट काम लगाउने तर श्रम गरेको ज्याला नदिने गरेकोले पनि महानगरमाथी आफुहरुको विश्वास हटेकोले बाध्य भएर काम रोक्नुपरेको जानकारी दिएका छन् । फेवाताल विनाको पोखरा परिकल्पना पनि गर्न सक्दैन र यो संरक्षण गर्ने दायित्व महानगरको नै भएको भन्ने तर व्यवहारमा त्यसको विपरित देखिएको गुनासो पोखेका छन् ।

आफुहरुले प्रतेक महिनाको ३ गते फेवाताल सफाइको कामलाई विगत ६ वर्षदेखि निरन्तरता दिइरहेको तर यहाँ आसपासका ठू–ठूला होटलहरुले यही फेवाताललाई देखाएर करोडौं डलर कमाएतापनि कुनैदिन ताल सफाइ र यसको संरक्षणको लागि केही पहल नगरेकोले दुःख लाग्ने गरेको बताए ।

वर्षायाम सुरु भएसँगै हर्पन खोलादेखि जलकुम्भी बग्दै फेवातालमा आउने गरेको छ । जसको कारणले गर्दा अहिले फेवातालमा जलकुम्भी झार थुप्रिन थालेको छ । यसरी फेवातालको सुन्दरतामा जलकुम्भीले ल्याएको ह्रासको बाजुत पनि न महानगरलाई कुनै चिन्ता छ न त त्यहाँका पर्यटन व्यवसायीहरुलाई जो दिन रात त्यही ताल देखाएर करोडौं रकम आर्जन गर्दै आइरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्