शुक्लाको कृष्ण भजन प्रतियोगिता सम्पन्न धर्मोदय दशवतार वालन संस्कृत समुह प्रथम
  • प्रमुख खबर

पोखरा ।।

पोखराको बाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समुह उत्कृष्ट हुदै प्रथम भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा देवीस्थान भजन समुह हेम्जा उत्कृष्ट दोस्रो, ईशानेश्वर भजन समुह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समुह फुलवारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगितामा उत्कृष्ट हुन सफल टोलीलाई नगद १ लाख, द्वितियलाई ७५ हजार, तृतियलाई ५० हजार, सान्त्वना टोलीलाई २५ हजार र सहभागी २४ टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए।  प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्ण लिला समेत प्रस्तुत गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य विद्या भट्टराई अधिकारीले कला संस्कृतिवाटै मानव सभ्यताको विकास भएको वताउँदै, यसको संरक्षण गर्न आवस्यक रहेको बताइन् । यस्ता कार्यक्रमले पोखराको धार्मिक पर्यटन विकासमा समेत टेवा पुर्‍याउने उनको भनाइ थियो।

प्रतिष्ठानका अध्यक्ष हरि वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक दुर्गादेवी वस्नेतले कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सदेैव अग्रसर हुने बताए । प्रतियोगितामा सहभागी टोलीको मुल्यांकन संयोजक सिर्जना थापा, संस्कृतिविद् डा. कुशुमाकर न्यौपाने र सह प्राध्यापक अम्विका प्र. भट्टराईले गरेका थिए । अग्रज दोहोरी गायक प्रजापति पराजुलीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, साहित्यप्रेमी र   सहयोगदातालाई सम्मान समेत गरिएको शुक्लाका सचिव दिपेन्द्र बानियाँले जानकारी दिए ।

प्रतियोगितामा कास्की, स्याङ्जा, वाग्लुङ, पाल्पा लगायतका जिल्लावाट भजन टोली सहभागी भएका थिए । वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्