पोखरा ।।
पोखराको ताल बाराही मन्दिर पुन:निर्माण भैरहेको छ । मन्दिर परिसरलाई व्यवस्थित बनाउन मास्टर प्लान बनाएर सोही अनुसार कार्य सुरु गरिएको हो । यसैक्रममा बिहीबार मूल मन्दिरको जग पुजा शुभारम्भको काम धार्मिक विधिअनुसार गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा जग पुजा शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा धार्मिक विधि भागवत भाष्कर कमल नयन गौतमले पुरा गराएका थिए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले ताल बाराही मन्दिर पोखराको गहना भएको बताए । मन्दिर पुन:निर्माणको लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने बताएका उनले पैसाको चिन्ता नलिन आग्रह समेत गरें । मास्टर प्लान अनुसारको मन्दिर र परिसरमा रहने संरचना निर्माणको लागि ९ करोडको लागत अनुमान गरिएको श्री ताल बाराही मन्दिर गुठी व्यस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवरले जानकारी दिए ।
अध्यक्ष कुँवरका अनुसार मन्दिर पुन:निर्माणको काम दुई वर्षमा सकिनेछ । मन्दिरको लागि आवश्यक पर्ने रकम जुटाउन आफुहरु लागि परेको उनले सुनाए । ‘अहिले मन्दिरमा माइकिङ गरेर केही रकम संकलन गरिएको छ, आमा समुहबाट केही रकम प्राप्त भएको छ, पुरातत्व विभागबाट ९ लाख रुपैयाँ प्राप्त भएको छ, अन्य सरकारी निकायबाट सहयोग प्राप्त भएको छैन’ कुँवरले बताए । मन्दिर साढे १३ फिट चौडाइको बन्नेछ भने १८ इन्चको गाह्रो लगाइनेछ । तालको बिचमा भएकोले अलिकति खन्ने बित्तिकै पानी आउँछ त्यसले समस्या हुने गरेको समेत उनले बताए । यसअघिको मन्दिर भुकम्पले चेतिएको हुनाले काठ ढुंगा नयाँ हातले कुँदेर लगाइने र मन्दिरको लागि आवश्यक पर्ने काठपनि टेन्डरबाट अर्डर गिरसकेको उनले खुलाए ।
अबको कम्तिमा २ सय वर्ष सम्म मन्दिर पुन:निर्माण गर्न नपरोस् भन्ने हिसाबले प्रयास भैरहेको उनको भनाइ छ । अब मन्दिर परिसरको माथिल्लो भागमा मास्टर प्लानमा भएको डिजाइन अनुसारको गणेश मन्दिर, मुल मन्दिर र होमनकुण्ड निर्माण हुनेछ । यसैगरी अन्डर ग्राउन्डमा सभाहल, बैठककक्ष, फोटोग्राफी, फूलप्रसाद, शौचालय लगायतका संरचना निर्माण हुनेछन् । ताल बाराही मन्दिर भित्र चढाएको भेटी पुजारीले नै लिने गरेको समितिका सूचना अधिकृत राजेन्द्र खत्रीले बताए । त्यसरी प्राप्त भेटी मध्ये समितिलाई प्रति दिन १ सय ५० रुपैयाँ दिने गरेको खत्रीले खुलाए ।