पोखरा–२४ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा, म्याद थप गरी अनुसन्धान गर्ने तयारी
  • प्रमुख खबर

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरत बहादुर अधिकारी प्रहरी नियन्त्रणमा आएका छन् । आफ्नै वडा सदस्य मैयाँ नेपालीलाई अपशब्द बोल्दै अपमानजनक व्यवहार र जातीय विभेद गरेको आरोप लागेका अधिकारी प्रहरी नियन्त्रणमा आएका हुन् ।

यही पौष १८ गतेका दिन लक्षित वर्गलाई वडाबाट छुट्याइएको बजेट माथीको छलफलका क्रममा उनले आफ्नै वडा सदस्य नेपालीलाई अपशब्द बोल्दै अमानवीय व्यवहार देखाएर अपमान गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा नेपालीले जाहेरी दिएकी थिइन् । उक्त जाहेरीपछि उनी स्वयम प्रहरी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिएका छन् ।

उनले वडा सदस्य नेपालीलाई हैसियत सोध्दै वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछन खोज्छेस् भनेका थिए । त्यस्तै वडाध्यक्ष अधिकारीले नेपालीलाई तँ तलबभत्ता खान आएकी होस्, घरमै बसेर खा जस्ता गैर कानुनी शब्दहरुको प्रयोग गर्दै सार्वजनिक रुपमा बेइज्जती गरेका थिए ।

वडाअध्यक्षले आफुमाथी गरेको अमर्यादित, अमानवीय र होचाहपूर्ण व्यवहारपछि पार्टीको वडा कमिटिलाई जानकारी गराएकी थिइन् । उक्त जानकारी लगतै पार्टीको भातृ संगठन मुक्ति समाजको निर्णय अुनसार प्रहरीमा वडाअध्यक्ष अधिकारी विरुद्ध गत शुक्रबार जाहेरी दिएको थियो ।

सोही जाहेरीको आधारमा अधिकारी अहिले प्रहरी नियन्त्रणमा रहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले वडाध्यक्ष अधिकारीलाई म्याद थप गरी अनुसन्धान गर्ने तयारी भएको जानकारी दिएको छ । अधिकारीको यस्तो अपमानजक व्यवहारको चौरतफी विरोध समेत भईरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्