काठ्माण्डौं ।
नेपालको उड्डयन सुरक्षाको बारेमा अनसाइट मूल्यांकन (फिल्ड अध्ययन) मै आउन लागेको युरोपेली युनियन (ईयु) को टोली तत्काल नेपाल नआउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदुत नोना डेप्रेजले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै ईयुको अनसाइट मुल्यांकन तत्कालका लागि रोकिएको जनाएका छन् ।
यसअघि सन् २०२२ अप्रिल १३ देखि २५ तारिकसम्म अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपालको हवाई सुरक्षा अडिट गर्दै ७०.१ प्रतिशतको स्कोर प्रदान गरेको थियो । आईकाओको विश्व इफेक्टिभ इम्लिमेन्सन रेट औसत ६७.२ प्रतिशत र एसिया प्रशान्त क्षेत्रको औसत दर ६१.४ प्रतिशत हुँदै गर्दा नेपालले अधिकतम ७०.१ प्रतिशत अंकभर प्राप्त गरेपछि नेपाल ईयुको कालो सूचीबाट हट्न सक्ने अपेक्षा गरिएको थियो ।
उक्त रिर्पोटका आधारमा नेपालको हवाई सुरक्षाको बारेमा स्थलगत रिपोर्टिङमा आउन लागेको ईयुको टोली गत माघ १ गते यति एयरलाइन्सको (एन–एनएसी ७२) को विमान काठ्माण्डौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेपछि रोकिन पुगेको छ ।
प्राधिकरणले दिएको जानकारी अनुसार नेपाली आकाशमा विमान उडानको क्रममा हालै मात्र ठूलो दुर्घटना हुन पुगेको कारणले तत्कालका लागि हवाई सुरक्षा सम्बन्धि अध्ययन नगर्ने निर्णय भएको हो ।