काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तिलगंगा आखाँ केन्द्रका निर्देशक डा.सन्दुक रुइतबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा प्रधानमन्त्री दाहाले तिलगंगा आखाँ केन्द्रलाई विश्व विद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
डा.रुइतले तिलगंगा आखाँ केन्द्रलाई विश्व विद्यालयका रुपमा विकास गर्न सरकारसमक्ष आग्रह गरेका थिए । उनको आग्रहलाई प्रधानमन्त्री दाहालले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै डा.रुइतले प्रधानमन्त्रीसँगको आजको भेटमा आखाँको उपचारको क्षेत्रमा नेपालले एउटा नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचाकार लागि समेत नेपालमा नै औषधी उत्पादन गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।
हालै मात्र बहराइन सरकारले प्रदान गर्ने इसा अवार्डबाट डा.रुइत सम्मानित भएका थिए । प्रधानमन्त्री दाहालले बहराइन सरकारले डा.रुइतलाई प्रदान गरेको उक्त सम्मानले नेपालको शिर विश्वसामु उँचो राखेकोमा खुशी व्यक्त समेत गरेका छन् ।