सरिता गुरुङ्ग
पोखरा ।
पोखरा रंगशालामा आजदेखि शुरु भएको तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशलाई खेलकुद र स्वास्थ्यको हव बनाउने बताएका छन् । उनले यसका लागि यस प्रदेशमा आवश्यक पर्ने पूर्वाधारहरु तयार भएको समेत बताएका छन् ।
उनले दर्जनौं अस्पतालहरु बनाउनु भन्दा एउटा रंगशालाको निर्माण प्रयाप्त हुने बताउँदै यस प्रदेशमा भएका खेलकुदका पूर्वाधारहरुको संरक्षण र सम्वद्धनका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट पहल गर्ने पनि जानकारी गराएका छन् । यस प्रतियोगिताको उद्घाटनसँगै आज तीन वटा खेलहरु भएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आज भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी शुरुवात गरेको छ । गण्डकीले पुलिसलाई २५–२३, २५–२० र २५–१६ ले पराजित गरेको हो ।
यस्तै पुरुषतर्फको दोस्रो खेलमा साबिक विजेता नेपाल आर्मीलाई शसस्त्र प्रहरीको एपिएफ क्लबले ३–१ को सेटमा पराजित गर्न सफल भएको छ । एपिएफले २०–२५, २५–२२, २६–२४, २५–१९ ले आर्मीलाई पराजित गरेको हो ।
त्यस्तै महिलातर्फ आजै भएको पहिलो खेलमा भने त्रिभुवन आर्मीले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा हराएको छ । आर्मीले २७–२५, २५–१७ र २५–२३ को सेटमा न्यू डायमण्डमाथी विजयी हासिल गरेको हो ।
यस तेस्रो टाइगर कपमा महिला र पुरुषतर्फ गरी ५÷५ टिमको सहभागिता हुने अन्तिम टुङ्गो लागेतापनि महिलातर्फ नेपाल पुलिस क्लब र भारतको महिला टिम पनि सहभागी नभएपछि महिलातर्फ ४ र पुरुषतर्फ ५ गरि जम्मा ९ टिमको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा संचालन हुने यस प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब र शसस्त्र प्रहरीबलको एपिएफ क्लबको सहभागिता रहेको छ । यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्बल, नेपाल पुलिस क्बल, एसटी जोशेफ वाज स्पोर्टस क्बल श्रीलंका, शसस्त्र प्रहरीबलको एपिएफ क्बल र गण्डकी प्रदेशको सहभागिता रहेको छ । उक्त प्रतियोगिता माघ १४ गतेसम्म पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा संचालन हुने छ ।
त्यस्तै गत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशी दोब्बर रहेको छ । महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले नगद ५÷५ लाख रुपैँयासहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने उप–विजेता टिमले समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् ।
यसैबीच तेस्रो हुने टिमले नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमले नगद रु ६५ हजारसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट १÷१ जना खेलाडीले समान नगद रु २५÷२५ हजार प्राप्त गर्ने छन् भने प्रतेक विद्याका उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकलाई समेत समान नगद रु १०÷१० हजार र ट्रफीसहित सम्मान समेत गर्ने भएको छ ।