गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने सहमति, सोमबार साँझसम्म सरकारले पूर्णता पाउने
  • प्रमुख खबर

पोखरा ।

सत्तारुढ दलहरुबीच गण्डकी प्रदेशमा ७ मन्त्रालय मात्र बनाउने सहमति भएको छ । यसअघि १२ मन्त्रालय रहेको गण्डकी प्रदेशमा ५ मन्त्रालय कटौति गरेर ७ मन्त्रालय मात्र बनाउने सहमति भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री सीता कुमारी सुन्दासले बताएकी छन् ।

यस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषद, आर्थिक मामिला, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय बनाउने सहमति भएको विना विभागिय मन्त्री सुन्दासले जानकारी दिएकी छन् ।

उनका अनुसार मन्त्री परिषद बैठक, प्रशासन, शासकीय सुधार मुख्यमन्त्री तथा मन्त्री परिषदमा पर्ने बताएकी छन् । आर्थिक मामिला मन्त्रालयमा शान्ति सुरक्षा, विपद व्यवस्थापन, सूचना, संचार, प्रदेश सभा मामिला, भाौतिक पूर्वाधार विकास मन्त्रालयमा भौतिक पूर्वाधार, शहरी विकास तथा योजना लगायत पर्ने उनले बताइन् ।

त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्र्तगत शिक्षा, संस्कृति, विज्ञान, प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ती, पर्यटन, वन, वातावरण लगायतको संरक्षण र कृषि तथा जलस्रोत मन्त्रालय अन्तर्गत कृषि तथा पशुपन्छी, उर्जा, जलस्रोत लगायत पर्ने समेत उनले बताएकी छन् ।

मुख्यमन्त्री अधिकारी मन्त्रालय घटाएर सातमा झार्ने योजनामा भएपनि उनकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ९ मन्त्रालय बनाउन दवाब दिँदै आएका थिए । तर पछिल्लो केही दिनयता दैनिक रुपमा भएको सघन छलफलले मन्त्रालय संख्या ७ मा झार्ने सहमति भएको स्रोतले जनाएको छ ।

भागवण्डा अनुसार नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाउने भएका छन् । तर माओवादी केन्द्र यसमा सहमत नभईसकेको स्रोतले बताएको छ । माओवादीले ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ । गोरखाबाट चुनाव जितेका बाबुराम भट्टाई नेतृत्वको नेकपा समाजवादीका फडिन्द्र देवकोटालाई पनि मन्त्री बनाउनुपर्ने भएकाले आफुलाई ३ मन्त्रालय चाहिने माओवादीको जिकिर छ ।

यसैबीच गण्डकी सरकारलाई पूर्णता दिने तयारी पनि थालिएको छ । मन्त्रालयको टुंगो लागि सकेकाले आज साँझसम्ममा मन्त्री परिषदलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री अधिकारी लागेको समेत स्रोतले जनाएको छ । सम्भवत त आज साँझसम्म सरकारले पूर्णता पाउने मन्त्री सुन्दासले जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्