यती विमान दुर्घटना ः ४८ शव मध्ये ६ वटा शव पहिचानको लागि डिएनए परीक्षण गरिने
  • प्रमुख खबर

काठ्माण्डौं ।

पोखरामा माघ १ गतेका दिन भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । शव पहिचानको लागि काठ्माण्डौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुव विश्व विद्यालय त्रिवि शिक्षण अस्पताले जनाएको छ ।

अस्पतालका फरेन्सिक विद् डा.तुलसी कँडेलले फरेन्सिक र फिङगर प्रिन्टबाट ४२ वटा शवको पहिचान भएको र बाँकी छ वटा शवको भने डिएनए परीक्षणबाट पहिचान गरिने जानकारी दिएका छन् । उनले डिएनए परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको बताएका छन् ।

उक्त ६ वटा शवको डिएनए परीक्षण नेपाल प्रहरीको प्रयोगशालामा गरिने समेत उनले बताएका छन् । यस विधिबाट शव पहिचान गर्न कम्तीमा पनि २२ दिन लाग्ने भएको छ । गत माघ १ गतेका दिन काठ्माण्डौंबाट पोखरातर्फ उडेको यति एयरलाइन्सको विमान सेती नदीको खोचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।

मृत्यु भएकाहरु मध्ये ४८ शव फरेन्सिक जाँचका लागि काठ्माण्डौं ल्याइएको थियो भने पोखरामा २२ वटा शवको जाँच गरिएको थियो । त्यस्तै हालसम्म दुई जनाको शव भने भेट्न सकेको छैन र यसको लागि अहिलेपनि खोजी कार्य जारी नै रहेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्