पोखरा ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहा मगर गण्डकी प्रदेश सरकारको प्रवक्तामा नियुक्त भएका छन् । यसअघि सरकारको प्रवक्तामा सीता कुमारी सुन्दास थिइन् । तर माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सञ्चार मन्त्री समेत रहेका गाहाले प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका हुन् ।
मन्त्री गाहा प्रदेश सभा सदस्यमा दोहोरिएर जित्ने एमालेका एकमात्र सांसद हुन् । संविधान सभा सदस्य समेत रहिसकेका उनी नवलपुर क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । पृथ्वी सुब्बा गुरुङ्ग समुह निकट मानिएका मन्त्री गाहाको नाम यसअघि अर्थ मन्त्रीका रुपमा चर्चामा चलेको थियो । तर उनलाई गुरुङ्ग समुहका निकट भएकै कारण मुख्य मन्त्री खगराज अधिकारीले महत्पूर्ण मन्त्रालयबाट पन्छाएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको चर्चा पछिल्लो समय निकै चलेको छ ।