सरिता गुरुङ्ग
पोखरा ।
पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित साविक अस्थायी ट्राफिक कार्यालय रहेको स्थान खालि गर्ने कार्यको शुरुवात गरेको छ । महानगरले उक्त स्थानमा पोखरा घर निर्माण गर्नका लागि आज डोजर चलाएको हो ।
महानगरपालिकाको कार्यपालिका बैठकले पोखराको, पोखरा घर हुनुपर्छ भन्ने निर्णय अनुसार नै आज उक्त स्थानमा रहेको गोलघरलाई भत्काउन शुरु गरिएको पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिएका छन् ।
उनले पोखराको आर्कषण पोखरा घर बनाउन र सूचना केन्द्र पनि आवश्य छ भन्ने कुरालाई ध्यानमा राख्दै जिर्ण अवस्थामा रहेको गोलघरलाई भत्काउन शुरुवात गरेको बताएका हुन् ।

वडाध्यक्ष मर्सानीका अनुसार पोखरामा आउने पर्यटकलाई लक्षित गरेर नै आफुहरु पोखरा घर बनाउने योजनासहित अघि बढेको र उक्त बन्ने पोखरेली घरमा पर्यटकीय क्षेत्रको सूचना पार्टीसहित “पोखरा आर्ट ग्यालरी” समेत निर्माण हुने जनाएका छन् । यस कार्यका लागि बजेट छुटाउने काम समेत भईसकेको उनले बताएका छन् ।
दुई रोपनी क्षेत्रफलमा निर्माण गरिने पोखरा घरमा सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघरसहितको छुट्टा–छुटै कक्षहरु निर्माण गरिने भएको छ । हाल डिपिआर निर्माणको काम भइरहेको पोखरा घर २ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने योजना महानगरपालिकाको रहेको छ ।














