नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने पुल निर्माणको काम थपिएको समयमा पनि समापन नहुने
  • प्रमुख खबर

काठ्माण्डौं ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । चार वटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम थपिएको समयमा नसकिने भएको हो ।

गएको पौष ५ देखि दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी रहेको छ । तर कडा चट्टानका कारण थपिएको समयभित्र सम्पन्न नहुने भएको हो ।

हालसम्म आठ वटा ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकिएको अनक कन्स्ट्रक्शनका फिल्ड सुपर भाइजर इन्जिनियर अर्जुन निरौलाले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार तीन ठाउँको ७० प्रतिशत काम सकिएको र तुइन तथा चिसेन्जी खोलाको ३० प्रतिशत मात्र काम सकेको छ । तर तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन रहेको समेत उनले बताएका छन् ।

विशेषगरी सवारी–साधान आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा गएको पौष ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठ वटा पुलको एकै पटक भित्तो काट्ने काम शुरु भएको थियो ।

उक्त अवधिमा पनि नसकिएपछि पुनः फाल्गुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ । अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पटक–पटक म्याद थप गरेपनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।

दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुले भने सास्ती खेप्दै आएका छन् । तराईलाई काठ्माण्डौंसँग जोड्ने मुख्य राजमार्ग भएकाले यस सडकमा दैनिक हजारौं सवारी–साधन गुड्छन् ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तगत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्शनले एक अर्ब २५ करोड रुपैयाँमा वि.सं.२०७६ चैत्र ११ गते निर्माणको जिम्म लिएको हो । यसको सडक खण्डको कार्य सम्पन्न समयावधि २०७९ पौष ५ गते थियो । तर समयमा काम सम्पन्न नभएपछि आयोजनाले २०८० पौष ९ गतेसम्म म्याद थप गरिदिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्