पोखरा ।
पोखरा महानगरपालिकाले माघ २३ गतेदेखि लागुहुने गरी मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाई भन्दै सूचना जारी गरेको थियो । । महानगरपालिका यातायात व्यवस्थापन समितिको माघ १६ गते (गत सोमबार) बसेको बैठकले मुख्य शहरी क्षेत्रको सडक खण्डमा सवारीको चाप अत्याधिक वृद्धि भई आवागमनमा प्रत्यक्ष असर परेको र शहरी सौन्र्दयीकरणमा समेत असर पर्न गएकाले पार्किङ निषेध गर्ने निर्णय गरेको थियो ।
तर विना विकल्प हचुवाको भरमा सडक पार्किङ बन्द गर्न लागेको भन्दै महानगरको उक्त कदम विरुद्ध चौतर्फी रुपमा विरोध भएसँगै तत्कालका लागि महानगर पछि हटेको छ । महानगरले आज एक सूचना जारी गर्दै पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसँग छलफल पश्चात मात्र यसअघि प्रकाशित भएको सूचना लागु गर्न सुझावहरु आएको भन्दै हाल व्यवस्थित भएका स्थानहरुलाई नै खुल्ला गरिँदै अर्को व्यवस्था नभएसम्मका लागि पूर्ववत् अनुसार नै रहने जनाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेप भारतीले अर्को सूचना नआइञ्जेलसम्मका लागि सडक पार्किङ बन्द गर्ने निर्णय स्थगन भएको प्रमुख मिडियालाई जानकारी दिएका छन् । उनका अनुसार सम्भवत अबको तीन÷चार दिनभित्रै बैठक बसेर सबैलाई पायक पर्ने र सहज हुने हिसाबबाट व्यवसायीहरुलाई मर्का नपर्ने तवरले निर्णय लिने समेत बताएका छन् ।
महानगरले गत सोमबार सूचना प्रकाशित गर्दै पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, विपिचोक, चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार खण्डका सडकमा पार्किङ नगर्न आग्रह गरेको थियो ।