काठ्माण्डौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतसँग हुन लागेको मैत्रीपूर्ण फुटबल खेलका लागि राष्ट्रिय महिला टोलीलाई विदाइ गरेको छ । आइतबार ललितपुरको एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले विदाइ गरेका हुन् ।
२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्ने भएका छन् । नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीको नेतृत्व गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले गर्ने छन् भने प्रशिक्षकमा अनन्तराज थापा रहेका छन् ।
प्रशिक्षक थापाले उक्त बिदाइ कार्यक्रममा बोल्दै भारत दक्षिण एसियाको बलियो टिम भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रीपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद नतिजा रहेको बताएका छन् । एन्फाले मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोट खेलमा अनुभव खेलको रुपमा हेरेको जनाएको छ । नेपाली टोलीले भारतसँगको मैत्रीपूर्ण फुटबल फाल्गुन ३ र ६ गते चेन्नईमा खेल्ने तालिका रहेको छ ।