पोखरा ।
१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता समय थप गरिएको छ ।नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने यस पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खेलाडी दर्ता समय थप गरेको हो ।
माघ २९ गते सम्म दर्ता मिति रहेकोमा आज बाट फागुन ३ गते सम्मका लागि थप गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
विभिन्न जिल्लाका धावकहरु पोखरा म्याराथनमा आउन चाहेकाले पनि दर्ता समय थप गरिएको अध्यक्ष पराजुली बताएका छन् । उनका अनुसार यस पोखरा म्याराथन अन्तर्गत हुने ७ वटा इभेन्टहरु एकै पटक एकै समयमा हुने भएको छ ।
पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो भने सर्वाधिक पुरस्कार राशीको म्याराथन समेत हो । आयोजकले पुरस्कारका लागि मात्रै १७ लाख ५२ हजार खर्च गर्दैछ भने दौड पुरा गर्नेलाई फिनिशर मेडल समेत प्रदान गर्दैछ ।पोखरा म्याराथनका लागि मञ्चले प्रचारात्मक अभियानलाई तिव्र समेत पारिरहेको छ ।