पोखरामा दोस्रो संस्करणको हिमालयन साईन्स फेस्टिवल आयोजना हुने
  • प्रमुख खबर

सरिता गुरुङ्ग
पोखरा ।

पोखरामा दोस्रो संस्करणको हिमालयन साईन्स फेस्टिवल आयोजना हुने भएको छ । हिमालय साइन्स फाउण्डेसनको आयोजनामा आगामी जेठको पहिलो साता (४ र ५ गते)उक्त महोत्सव हुने भएको हो । विहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना फाउण्डेसनले सो कुराको जानकारी दिएको छ ।

विश्वका धेरै राष्ट्रहरुले अन्तरिक्षमा मानव बस्ती बसाउने योजना बनाईरहँदा हाम्रो देश नेपालमा भने विज्ञान–प्रविधि विकासको गति र हालत दयनीय अवस्थामा छ । राज्य संचालक निकायले सधैं उपेक्षा गरेको विज्ञान–प्रविधि विकास र सामाजिक बहसको विषय कहिले बन्न नसकेको भन्दै देशभित्र रहेका वैज्ञानिकहरुका प्रतिभालाई प्रस्फुटन गर्ने मौका दिनको लागि र सामाजिक बहस सृजना गर्न यस महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

सो फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले नेपालमा आवश्यक शिक्षा, अवसर र प्रविधिको अभावले विद्यार्थीहरुको रुची यस क्षेत्रमा भएतापनि यावत कारणले गर्दा पछि परेको भन्दै यस फेस्टिवलको परिकल्पना गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष बस्नेतका अनुसार २०७६ साल माघमा पहिलो संस्करण आयोजना गरेर शुरु भएको यस विज्ञान–प्रविधि महोत्सवको शृंखला कोरोना महामारीले बीचमा केही वर्ष रोकिएको जानकारी दिँदै अबका वर्षहरुमा भने यसलाई निरन्तरता दिने पनि बताएका छन् ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरेर आयोजना गर्न लागिएको यस महोत्सवमा विज्ञान–प्रविधिको प्रोजेक्टसहित सहभागिता जनाउन सकिने समेत फाउण्डेसनका अध्यक्ष बस्नेतले जनाएका छन् ।

महोत्सवमा विद्यार्थीहरुले फोहोर व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने प्रविधि, हार्डवयर तथा सफ्टवेयर एप्लिकेसन, किसानलाई सहयोग गर्ने नविन कृषि औजार, वायू प्रदुषण शुद्धिकरण प्रविधि, उर्जाका वैकल्पिक श्रोत, रसायनिक मलको वैकल्पिक श्रोत र खोलाबाट माथि पानी तान्ने प्रविधि लगायतका विषयको परिधिमा रही वैज्ञानिक प्रोजेक्टहरु तयार गर्नुपर्ने पनि उनले बताएका छन् ।

यस महोत्सव एक वर्षभित्र सातै प्रदेशमा प्रदेश स्तरीय र यसपछि अन्तमा सातै प्रदेशबाट विजेता भएर आएका टिमबीचको फाइनल काठ्माण्डौंमा आयोजना गरि उत्कृष्ट हुने टिमलाई प्रोत्साहन स्वरुप पुरस्कारको समेत व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।

महोत्सवमा उत्कृष्ट प्रोर्जेक्ट प्रदर्शन गरि प्रथम हुनेलाई नगद ३० हजार, द्धितिय हुनेलाई २५ हजार , तितृय हुनेलाई २० हजार र सान्तवना हुने २ वटा प्रोजेक्टलाई नगद ६–६ हजार रुपैयाँ र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिने छ ।यस हिमालय साईन्स फाउन्डेशनले सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा यस महोत्सवको सफलताका साथ आयोजना गरिसकेको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्