काठ्माण्डौं ।
आज ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ः आविष्कार र प्रविधिमा लैंगिक समान्ता भन्ने रहेको छ । संयुक्त राष्ट्र संघले प्रविधिमा समानता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने जनाएको छ ।
राष्ट्र संघले डिजिटल दुनियाँलाई सुरक्षित, थप सहभागिता मूलक र समता मूलक बनाउनका लागि सबै देशका सरकार, अभियान्ता र निजी क्षेत्रलाई आग्रह गरेको छ । त्यस्तै नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष “लैङ्गिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नारा तय गरेको छ ।
महिला सशक्तिकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले उपलब्धि हासिल गरेपनि महिलाको नेतृत्व विकास, अवसरको समता मूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा अझै धेरै काम हुन बाँकी नै छ ।
नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरुमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । तर अझै पनि महिलालाई नेतृत्व र जिम्मेवारी दिन आनाकानी हुने गरेको छ ।
पछिल्लो समय महिलाहरु आत्मनिर्भर र स्वावलम्बि बन्दै गएका छन् । यस ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।
उनले यस अवसरमा महिला सशक्तिकरण र लैङगिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलन कै निम्ति विशिष्ट रहेको बताएकी छन् ।
शुभकामना सन्देशमा अन्तर्राष्ट्रिय महिला दिवसले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एंव समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित राष्ट्रपति भण्डारीले महिला सशक्तिकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रुपमा लिनुपर्नेमा जोड दिएका छन् ।
यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरु घनिभूत बनाउन जरुरी भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गन थप प्रेरण गर्ने विश्वारस व्यक्त गरेका छन् ।
उनले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरुको निर्णयक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण समेत गरेका छन् ।