पोखराका २० वर्षीय अभिनासले बनाए साइन बोर्ड बनाउने मेसिन
  • प्रमुख खबर

पोखरा ।।

पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् । विहिबार उनले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गरे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनासले बताए ।

मेसिनको अनावरण सँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने भनाई उनको छ । नेपालमा नै पहिलो पटक उक्त मेसिन बनेको दाबी अभिनासले गरेका छन् । सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टसले निर्माण गरेको हो । ‘मायाको चिनो खरिदमा मात्रै नेपालबाट करौडौं रुपैयाँ बाहिर जान्छ । अरुप्रति हामी कति आश्रित हुने ? स्थानीय स्रोत साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो । फलस्वरुप उक्त मेसिन निर्माण गरे ।

मैले आफुले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको हुँ ।’, अभिनासले भने उनले पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका छन् । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच भएको उल्लेख उनले गरे । मेसिन निर्माण कार्यलाई उनले निरन्तरता दिने बताएका छन् । ‘एउटा मेसिन निर्माण गरेर मात्र बस्दिन । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु । आशा छ सबैको सहयोग मिल्नेछ ।’, उनले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्