शुक्रबारदेखि हुने एसईईको सम्पूर्ण तयारी पूरा, २ हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा हुने
  • प्रमुख खबर

काठ्माण्डौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि शुक्रबारदेखि शुरु हुने एसईईको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष २ हजार ३६ परीक्षा केन्द्रबाट देशभर एकैसाथ बिहान ८ बजेदेखि परीक्षा शुरु हुनेछ ।

देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी झन्डै ७८ हजार जनशक्ति परिचालन हुने एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला–जिल्लामा पुर्याइसकिएको छ । यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी त्यहीअनुसार ढुवानी गरिएको हो । यस वर्ष एसईईका लागि विद्यार्थीको अनुपातमा झन्डै १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको छ ।

एसईईमा सहभागिता जनाउन यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा चार लाख ८४ हजार दुई सय २७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।

त्यस्तै यो वर्षपनि बाग्मती प्रदेशमा सबैभन्दा बढी ४ सय ३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७९ परीक्षा केन्द्र कायम गरिएको छ । यस्तै गण्डकी प्रदेशमा २ सय २३, मधेस प्रदेशमा २ सय ७९, लुम्बिनीमा ३ सय ३४, कोशीमा ३ सय ७८ र सुुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र निर्धारण गरिएको पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईईमा सहभागी हुने छात्रा र छात्र विद्यार्थीको संख्या बराबर जस्तै देखिएको छ । कक्षा १० को तथ्यांक अनुसार ३८ जनाले मात्रै छात्राको संख्या बढी देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ लाख ८५ हजार ३९६ जम्मा विद्यार्थी मध्ये छात्राको संख्या २ लाख ४२ हजार ७१२ र छात्रको संख्या २ लाख ४२ हजार ६७४ रहेको छ ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईईमा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्