काठ्माण्डौं ।
बैशाख १० गते उप–निर्वाचनको लागि तनहुँ १ र चितवन २ मा नेकपा एमालेले उम्मेदवार चयन गरेको छ । शनिबार एमालेको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उप–चुनावका लागि तनहुँबाट उम्मेवार बन्न लागेका खनाल पूर्व प्रहरी महानिरीक्षक हुन् ।खनाल गत मंसिर ४ मा सम्पन्न भएको चुनावमा काठ्माण्डौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
यस्तै यता, चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने चितवन एमाले जिल्ला कमिटि अध्यक्ष हुन् । न्यौपाने गत मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।
त्यस्तै उक्त बैठकले बारा २ मा उम्मेवार टुंग्याउन नसकेको प्रचार प्रसार प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । गुरुङका अनुसार बारा २ मा राजनीतिक अवस्था अत्यन्तै अन्यौल भएकोले थप छलफल गरेर आइतबार मात्र उम्मेदवार टुंग्याइने छ ।