११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा
  • प्रमुख खबर

पोखरा ।

११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा आयोजना हुने यस महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।

“सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ विष्णुपादुका क्लबले आयोजना गर्ने यस महोत्सवको तयारी करिब ७० प्रतिशत पुरा भएको छ ।

क्लबले आज पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको छ । क्लवका अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उध्यान व्यवस्थापन, आलु ग्रडिङ गरी संकलन गर्ने लगायतका कार्य धमाधम भइरहेको बताए । महासचिव बसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पारे ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने भएको छ ।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लव भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको छ ।

त्यस्तै उक्त पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवसँगै हेमजाको आलुको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्दै हेमजामा बढी मात्रामा लगाउने गरिएको एम्एस ४२ जातको निलो आलु हाल सूचिकरण भइसकेको जानकारी दिए ।उनले समग्रमा कृषि पेशा प्रति विकर्षण बढ्दै जानु दुःखद् भएको औँल्याउँदै महोत्सवकै अवसर पारी महाशाखाले कृषक परिचयपत्र वितरण गर्न लागेको पनि बताए ।

महोत्सव अन्र्तगत ३० देखि ४० टनको आलुको पहाड निर्माण गरिदैछ । त्यस्तै साधारण प्रवेशका लागि रु।८० र विद्यार्थीका लागि रु।५० लाग्ने टिकट व्यवस्था पनि गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्