काठ्माण्डौं ।
आजदेखि सरकारले बालबालिकाका लागि राष्ट्रिय भिटामिन “ए” अभियान कार्यक्रम सञ्चालन गरेको छ । देशभरिका बालबालिकाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन राष्ट्रिय भिटामिन ए अभियान सञ्चालन गरेको हो ।
भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरिसकेको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।