खडेरीका कारण पोखरामा खानेपानीको समस्यमा, अनावश्यक खर्च नगर्न उपभोक्तालाई संस्थानद्धारा आग्रह
  • प्रमुख खबर

पोखरा ।

जलवायु प्रदुषणको कारणले मौसममा देखिएको नकारात्मक प्रभावका कारण लामो समयसम्म पनि पानी पर्न सकेको छैन । यसरी लामो समयसम्म पानी नपर्दा नदी, ताल–तलैया देखि लिएर खानेपानीको मुहानहरु सुक्न थालेको छ । जसको प्रतत्यक्ष प्रभाव पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोतको रुपमा रहेको मर्दीखोलामा पनि परेको छ ।

यस मर्दीखोला पोखरेली जनताले पिउँदै आएको खानेपानीको मुख्य स्रोतको रुपमा रहेको छ । खडेरी परेर पानीको सतह दिन प्रति घटेसँगै पोखरामा पछिल्लो समय खानेपानीको समस्या हुन थालेको छ । पोखरामा खानेपानी वितरण गर्दै आइरहेको नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले पनि खानेपानी पु¥याउन गाह्रो परेको सूचना जारी गरिसकेको छ ।

संस्थानले जारी गरेको उक्त सूचनामा खडेरीका कारण हाल भइरहेको पानी उत्पादनमा कमि आई पोखरा महानगरभित्रका कतिपय स्थानमा पानी वितरणमा समस्या आएको जानकारी दिइएको छ ।

हाल उत्पादन भइरहेको पानीलाई संचालन नभएका क्षेत्रमा आलोपालो गरी वितरणको लागि संस्थान प्रयासरत रहेको पनि जनाएको छ । कार्यालयले अनावश्यक रुपमा पानी खर्च नगर्न उपभोक्तालाई आग्रह गरेको छ । सोमबारदेखि पानी वितरणमा समस्या हुने भएकाले उपभोक्तालाई अनावश्यक पानी खर्च नगर्न आग्रह गरिएको हो ।

हाल पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिएका छन् । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ ।

पोखरामा संस्थानका ६ वटा खानेपानी ट्याङ्की छन् । जसमध्ये विन्ध्यवासिनीमा ४० लाख लिटर, माटेपानीमा साढे चार लाख लिटर, बालधारामा एक लाख २० हजार लिटर, खहरेमा १ लाख लिटर क्षमताका ट्याङ्की छन् । यीबाहेक अमला बिसौनी र लभ्लीडाँडाको ट्याङ्कीबाट पनि पानी वितरण भइरहेको छ । पोखरामा संस्थानबाट करिब ४८ हजार धारा जडान भएका छन् ।

त्यस्तै पोखरामा मर्दीखोला मुख्य खानेपानी स्रोतको रुपमा रहेपनि अन्य स्रोतहरु छन् । ती स्रोतहरुमा भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा नै पानी घटेका कारण अहिले खानेपानी वितरणमा समस्या उत्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्