सरिता गुरुङ्ग
पोखरा ।
पोखरामा झलकमान गन्धर्व राष्ट्रिय सारङ्गी बादन प्रतियोगिता हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशालाको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
यस प्रतियोगितको अडिसन बैशाख १५ गते पोखरा–१६ स्थित जित पार्टी प्यालेसमा हुनेछ भने फाईनल बैशाख १६ गते पोखरा सभागृह हलमा हुने आयोजकले जनाएको छ ।
विशेष गरी झलकमान गन्धर्वको गीतको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्य गायकले जानकारी दिएका छन् । प्रतियोगितामा देशभरका कलाकारहरुले सहभागिता जनाउने उनले बताएका छन् ।
अध्यक्ष गायकका अनुसार प्रतियोगितामा सहभागी जनाउने प्रतियोगिहरुले आफै सारङ्गी बजाएर गन्धर्व गीत गाउनुपर्ने र झलकमान गन्धर्वको एउटा गीत समेत सहभागीले गाउनुपर्ने बताए ।
उनले यस कार्यक्रमको आयोजना गर्नुको अर्को प्रमुख उद्देश्य भनेको गन्धर्वका गीत संगित मंगल, माहल, बाह्रमासे गीतहरु, तरवारे नाच, डाँफे चरी, कर्खा, पिगुल, बालन, कृष्ण चरित्र, स्वास्थानी गीत, विभिन्न कथा, घटनाहरुको संरक्षण गरि नयाँ पुस्तामा हस्तान्तरण गर्नु समेत रहेको स्पष्ट पारेका छन् ।
नेपाली मौलिक बाजा लोक संगित संरक्षण र संम्बर्धन तथा प्रचार–प्रसारमा एैतिहासिक अनि महत्वपूर्ण योगदान दिँदै आएका गन्धर्व जातिको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व हुँदा–हुँदै पनि त्यती सोचे अनुरुपको सहयोग राज्यबाट प्राप्त नहुनु अति दुःखद भएको उनको भनाई छ ।
अध्यक्ष गायकले संस्थाले सारङगी गायन र बादनको प्रशिक्षणलाई निरन्तरता दिई नयाँ कलाकार उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको प्रष्टाएका छन् । यस्तै प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने र प्रवेश समेत निःशुल्क रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार १५ हजार, चौथो पुरस्कार ७ हजार ५ सय रुपैयाँ, प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।