काठ्माण्डौं ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब प्रतेक १० वर्षमा गर्ने व्यवस्था गरिने भएको छ । पाँच÷पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था अलि झण्झटिलो भएकाले १०÷१० वर्षमा गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्मार्ट लाइसेन्सको आयु २० वर्ष भएकाले पाँचरपाँच वर्षमा लाइन्सेन्स नवीकरण गर्ने काम झन्झटिलो भएको हुँदा स्मार्ट लाइसेन्स वितरणलाई सहज बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
उनले लाइसेन्सको मिति सकिने अवस्थाको पनि अन्त्य गर्न र लाइसेन्स वितरणको लोड कम गर्ने गरी १० वर्षमा नवीकरण गर्ने गरी ऐनमा नै व्यवस्था गरेर अघि बढ्ने जानकारी दिएका छन् । यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो आउने गरेको बताउँदै लाइसेन्सको समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको पनि मन्त्री ज्वालाले बताए ।
यस्तै उनले लाइसेन्सका लागि ट्रायल परीक्षा पास गरेर लामो समयसम्म स्मार्ट लाइसेन्स कुरेर बसेकाहरुको समस्या सात महिनाभित्र अन्त्य गर्ने योजना बनाएको उल्लेख गरेका छन् ।
उनले सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अङ्ग्रेजीमा मात्रै प्रिन्ट भएकोमा आलोचना र गुनासो आएको भन्दै मन्त्रिपरिषदबाट निर्णय गरेर अङ्ग्रेजी, नेपाली र नेपाली वा अङ्ग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको जानकारी पनि दिए ।त्यस्तै उनले सडक वर्गीकरणको आधार तयार गरी सङ्घ, प्रदेश र पालिकाले बनाउने गरी कानुनी रूपमै वर्गीकरण गर्ने पनि बताएका छन् ।