पाेखरा ।।
नेपालमा पहिलाेपटक अण्डा पार्ने कुखुराहरुकाे कल्याणका लागि भन्दै एनिमल नेपाल नामक संस्थाले एक अभियानकाे शुरुवात गरेकाे छ ।
साेही अभियानबारे जानकारी दिन र पशुपन्छीहरु माथि हुने गरेकाे क्रुर व्यवहार विरुद्ध चेतना फैलाउन संस्थाकाे अायाेजनामा पाेखरामा एक दिने अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।
विशेषगरी पशु कल्याणकाे विश्वव्यापी मान्यता अनुसार अण्डा पार्ने कुखुराहरुकाे लागि पिंजडामुक्त खाेर तथा उपयुक्त वातावरण हुनुपर्ने विषयलाई संस्थाले प्राथमिकता दिदै अाएकाे कार्यक्रम प्रमुख सुलोचना राणाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अण्डा उत्पादन व्यवसाय सञ्चालन गर्दै अाउनुभएका व्यवसायीहरुलाई पिंजडामुक्त खाेरबारे सचेतना अभिवृद्धि गराई शसक्तिकरण गरि पिंजडामुक्त कुखुरापालन व्यवसायका लागि प्राेत्साहन गर्ने यस अभियानकाे उद्देश्य भएको बताउनुभयाे ।
राणाले संस्थाले पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको बताउँदै अण्डा उत्पादन गर्ने कुखुरा पिंजडामुुक्त हुनुुपर्ने स्पष्ट समेत पार्नुभएकाे छ ।
त्यस्तै संस्थाले सञ्चालन गरेकाे यस अभियानकाे अर्को उद्देश्य अन्तर्गत घरदैलो कार्यक्रम मार्फत सहकार्य गरी पिंजडामुक्त खोरमा पालिएका कुखुराहरुबाट प्राप्त अण्डा उपभोगबारे प्रतिबद्धता गर्ने, सरोकारवालाहरुलाई अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त तयार पारेका प्रचार सामग्री वितरण गर्ने र नेपालमा पिंजडामुक्त खोरमा अण्डा उत्पादन गर्ने कुखुराहरुको व्यवहारिक पक्षको आंकलन तयार गर्ने लगायत रहेकाे पनि साे अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा संस्थाका प्रमुख राणाले पिंजडामा पालिएका कुखुराहरुकाे विद्यमान अवस्थाकाे बारेमा जानकारीका साथै पिंजडामुक्त खाेरमा कुखुरा पालन किन अावश्यक छ भन्ने विषयमा समेत चर्चा गर्नुभएको छ ।
उहाँका अनुसार हामीले पाैष्टिक तत्व प्राप्त गर्नका लागि खाने अण्डा, मासु जस्ता खाद्यान्न वस्तुहरु राम्रो वातावरणमा पालनपोषण गरेकाे छ भने यसले मानव स्वस्थ्यलाई पनि धेरै फाइदा पुर्याउने र अर्काे महत्त्वपूर्ण विषय भनेकाे पशुपन्छीहरुले समेत सामान्य व्यवहार अभिव्यक्ति गरि बाँच्न पाउनुपर्ने पनि स्पष्ट पार्नुभएकाे छ ।
एनिमल नेपाल पशुपन्छीलाई दुख, पिडा र मानव सिर्जित क्रुरताबट छुटकारा दिने लक्ष्य बोकी सन् २००९ मा स्थापना भएको संस्था हो ।
अाफ्नाे स्थापना कालदेखि नै यस संस्थाले पशुपन्छीको उद्धारका लागि विभिन्न चेतना मुलक अभियानहरु सञ्चालन गर्नुका साथै पशुपन्छी माथि हुने गरेका क्रुरताका विरुद्ध वकालतको काम गर्दै अाईरहेकाे छ ।
यस संस्थाले पशु कल्याणबारे सामाजिक शिक्षा प्रदान गरी धेरै मानिसहरुको मनोवृतिमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रमकाे अायाेजना गरिरहेकाे पनि जनाएकाे छ ।
एनिमल नेपालले विशेष गरी गोर्खा, काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बाँके, लगायतका जिल्लाहरुमा पशु कल्याण सम्बन्धी कार्यक्रम सन्चालन गर्दै अाईरहेकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-