पोखरा ।।
पोखरामा बालिकालाई प्रलोभनमा पारी विवाह गर्ने चिनियाँ नागरिक र गराइदिने गरेर तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १४ वर्षिया बालिकालाई बिभिन्न प्रलोभन देखाएर चिनियाँ युवासँग बिबाह गराइदिने लमजुङको साबिक भोजे हाल पोखरा महानगरपालिका वडा नम्बर १६ संगमचोक बस्ने २२ वर्षीया सरु बिक र पोखरा १३ आर्वा बस्ने ३४ की भगवती अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। अभियुक्त अधिकारीले चिनियाँ नागरिकसँग दुई लाख रुपियाँ लिएर ती बालिकाको भेट गराइदिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । हाल प्रहरी हिरासतमा रहेकी सरु बिकले भने आफु बिहे भोज खाएकै आधारमा पक्राउ परेको पत्रकारहरुका माझ बताएकी थिइन् ।
विभिन्न प्रलोभन देखाएर १४ वर्षीया बालिकासंग बिबाह गरेको आरोपमा प्रहरीले चीनको हुनान प्रान्तका नागरिक इएम ४७५४५१३ नम्बरको पासपोर्ट बाहक ३१ वर्षीय सी मेङ चेनलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ। नेपाली र अंग्रेजी भाषा समेत नबुझ्ने ती चिनियाँ नागरिकले दोभाषे मार्फत आफुलाई फँसाइएको प्रहरी समक्ष दाबी गरेका छन्। डिएसपी शर्माका अनुसार , सरु र भगवतीले ‘तिमी दुःख पाउने केटी रहेछौ, हामीहरूले चाइनीज नागरिलाई चिनेका छौँ। तिमीले ऊसँग विवाह ग¥यौ भने तिम्रो भविष्य बन्छ’ भनी फकाएका थिए ।