पाेखरा ।।
मोडिफाइड गरिएका मोटरसाइकललाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको स्वरुप नै परिवर्तन गरेर ध्वनी प्रदुषण गर्ने र साईलेन्सर पाईपबाट आगो समेत निकाल्ने मोटरसाइकलहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माका अनुसार कास्की प्रहरी मातहतमा रहेका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि ४ दिनमा १ सय ४९ वटा मोटरसाइकलकलाई नियन्त्रणमा लिएकाे बताउनुभएको छ ।
उहाँका अनुसार अाफुहरुले अभियान नै चलाएर त्यस्ता मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएकाे र अब कारवाही गर्ने तयारीमा भएको समेत बताउनुभयो ।
उहाँले अभियानको क्रममा पहिलो देखि चौथो पटकसम्म मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने समेत बताउनुभएकाे छ ।
कास्की प्रहरीले यस अगाडि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसपलाई समेत नियन्त्रणमा लिई मोडिफाइड नगर्ने शर्तमा छाडेको थियो ।
यसरी स्वरुप परिवर्तन गर्ने सवारी धनी र वर्कसप सञ्चालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइने पनि कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पाटपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजारसम्म जरिवाना हुने व्यवस्था समेत रहेको छ ।