पोखरा ।।
पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला आज सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालित भएको मेलामा आज समूहगत तीज गीत प्रस्तुती रहेको थियो ।
पोखरा-१६ भित्रका २२ समूहले तीज गीत प्रस्तुतीमा सहभागीता जनाएको प्रचारप्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए । सहभागी समुहलाई नगद जनही १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम समापनमा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संयोजक राजकुमारी बानियाँले नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रचार प्रसारमा पत्रकार सेतो पानाका शिशिर पौडेल, रामप्रसाद पौडेल, रेडियो अकलाका विराज शर्मा, सराङ्कोट साप्ताहिकका यदुनाथ बञ्जरा, प्रमुख खबरका संजय थापा, समय नेपालका सन्देश बराल, परिबर्तन न्यूजका प्रकास अधिकारी, सोनी पिक्चरका नवराज थापा प्रचार-प्रसार र उपसमितिका सदस्य अनील नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा मुख्य प्रायोजक, सह प्रायोजक, सहयोगी संघ संस्थालाई पनि सम्मान गरिएको कार्यक्रम सहसंयोजक मन्जु बस्यालले जानकारी दिईन् ।
कार्यक्रममा लोकदोहोरी गायिका पूजा तामाङ, रीता तिमिल्सिनाले आफ्ना चर्चित तीजे भाकामा सहभागी महिलालाई नचाएका थिए ।
सोही अवसरमा प्रमुख अतिथि प्यासीले तीज पर्वले महिला अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउने गरेको बताए । उनले यस्तो सांस्कृतिक पर्वलाई भड्किलो पर्व हुनबाट जोगाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । त्यस्तै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाको संरक्षकत्वमा सञ्चालित मेला सबैको समन्वयमा सफल रहेको बताउँदै आगामी वर्षका लागी योजनासहित अघि बढ्नुपर्ने बताए ।
मेला व्यवस्थापन मूल समिति संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बडहरबोट आमा समूहकी अध्यक्ष कमला शर्मा तिमिल्सिना र सञ्चालन मूल समिति सदस्य भीमबहादुर गायक र सुनिता देवकोटाले गरेका थिए ।