पोखरा ।।
चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिका अनुसार रक्तदान कार्यक्रम नभएको र डेँगीका कारण माग वृद्धि हुँदा रगत हाहाकारको अवस्था आएको जनाएको छ । केन्द्रले सवैलाई रक्तदान गर्न समेत आह्वान गरेको छ ।
रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालहरूमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएको छ । दसैँका समयमा विभिन्न सङ्घ संस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेँगीको सङ्क्रमण समेत बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा हाहाकारको अवस्था आएपछि सवैलाई आह्वान गरिएको छ । गण्डकी प्रदेशको राजधानी समेत रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गर्छ ।
प्रदेशका अन्य जिल्ला अस्पतालहरुबाट समेत यहाँका अस्पतालमा बिरामी थप उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग बढी हुने गर्दछ ।